स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई प्रोत्साहन रकम

फाागुन २६, तनहु – तनहुँको म्याग्दे गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई प्रोत्साहन रकम वितरण गरेको छ । घरमा हुने जोखिमपूर्ण सुत्केरीलाई अन्त्य गर्न र स्वास्थ्य संस्थामार्फत सुत्केरी गराउन प्रेरणा दिने उद्देश्यले गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत महिलालाई प्रोत्साहन रकम वितरण गरेको हो ।

गाउँपालिका भित्र रहेका सरकारी स्वास्थ्य संस्थामा सत्केरी गराएका ५० जनालाई रु तीन हजारका दरले पोषण भत्ता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिए । गत दशैँदेखि यता स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई रकम वितरण गरिएको रानाले बताए । त्यसअगाडि पनि गाउँपालिकाले पोषण भत्ता वितरण गरिसकेको छ ।

गाउँपालिकाले गत आर्थिक वर्षदेखि अध्यक्षसँग सुत्केरी कार्यक्रम सुरु गरेको हो । मातृ शिशु मृत्युदर कम गराउन कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष रानाले बताए । ‘ गर्भावस्थामा स्वास्थ्य परीक्षण नगर्ने र घरमै असुरक्षित सुत्केरी गराउँदा महिलाको ज्यान जाने खतरा हुन्छ ‘ उनले भने ‘ त्यसलाई निरुत्साहित गर्दै स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रोत्साहन गर्ने नीति लिएका छौं । ’
संस्थागत सुत्केरी बढावा गर्न कार्यक्रम प्रभावकारी देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले बताए । घरमा हुने असुरक्षित सुत्केरीलाई निरुत्साहित गर्नका लागि सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको घिमिरेले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाले दिने रु तीन हजार पोषण भत्ता लिनलाई गर्भवतीले कम्तीमा चार पटक स्वास्थ्य परीक्षण गराएको हुनुपर्छ । म्याग्दे बाहिरका सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुनेले भने यो सुविधा पाउँदैनन् । अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत १७९ जनालाई प्रोत्साहन रकम वितरण गरिएको छ ।