सबस्टेशन बन्द

फागुन २०, म्याग्दी – बिग्रिएको ट्रान्सफर्मर मर्मत र परिवर्तन नहुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा रहेको सबस्टेशन बन्द भएको छ ।

विद्युत्तको भार थेग्न नसकेपछि सो सबस्टेशनमा जडान भएको एकमात्र तीन एमबिए क्षमताको ट्रान्सफर्मर २०७८ जेठमा जलेको थियो । यहाँबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा केन्द्रीय लाइनको विद्युत् वितरण हुँदै आएको थियो ।

दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना बन्द भएपछि १३.६ मेगावाट क्षमताको थापाखोला र पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ३३÷११ केभीमा सिङ्क्रोलाइज (आन्तरिकीकरण) गरी घरापबाट राष्ट्रिय प्रसारणमा जोडिएको थियो । थापाखोलाको विद्युत्लाई चोखोपानी सबस्टेशनमा चार्ज गरिएको छ । घलेम्दीको बिजुलीलाई दानास्थित सबस्टेशनमा लगिएको छ ।

तातोपानी साना जलविद्युत् र सबस्टेशनका प्रमुख शिवप्रसाद नेपालले वैकल्पिक सबस्टेशनबाट विद्युत् वितरण गर्नुपरेको बताए । ‘ लामो समयको प्रयासपछि ६.८ एमबिए क्षमताको ट्रान्सफर्मर ल्याए पनि क्रेन नहुँदा त्यसलाई उचालेर चौकामा राखी जडान गर्न सकेका छैनौं ’। उनले भने ‘दानाको २२०÷१३२ केभिए सबस्टेशनको ३३÷११ केभिए सबलाइनबाट पर्वतको मिलनचोक सबस्टेशनबाट विद्युत् वितरण गरिएको छ ।’

पुराना र जीर्ण ३३÷११ केभिए ट्रान्सफर्मर र प्रसारण लाइनमा बढी क्षमताको विद्युत् पठाइएकाले भार थेग्न नसकी ट्रिप (सबस्टेशनमा विद्युत् काटिने) समस्या थियो । सबस्टेशन बन्द भएपछि लामो दूरीमा वितरण गर्दा विद्युत् आपूर्ति अनियमित हुन थालेको अन्नपूर्ण–३ दानाका गङ्गा पुनले बताउनुभयो । दुईवटा जलविद्युत् आयोजना र बेनी–जोमसोम–कोरला सडक आयोजनाका अस्थायी क्रसरमा विद्युत् आपूर्तिमा समस्या आएको छ ।

घरापमा विसं २०४६ मा नेपाल विद्युत् प्राधिकरणले धवलागिरि क्षेत्रमै पहिलोपटक तातोपानी साना जलविद्युत् आयोजना निर्माण गरेर म्याग्दी, पर्वत, मुस्ताङ र बागलुङका बस्तीमा उज्यालो पु¥याएको थियो । गत वर्षदेखि सञ्चालनमा आएको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला जलविद्युत् आयोजनाले तातोपानी सानाको मुहानभन्दा माथि बाँध बानेर पानी लगेको छ ।

खोला सुकेपछि हिउँदमा तातोपानी साना जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको तातोपानी साना जलविद्युत् आयोजनाको ऐतिहासिक विरासत अन्त्य भएको छ । आयोजनाको विद्युत् गृहका टर्वाइन, जेनेरेटरलगायतका उपकरण मर्मत हुन नसक्दा १५ वर्षदेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकेको थिएन । पाँच सय किलोवाट मात्र विद्युत् उत्पादन हुने गरेको थियो । चारवटा टर्वाइन सामान्य मर्मत गरेपछि सञ्चालन गर्न सकिने अवस्थाका छन् ।