झापा गोल्डकपका लागि दस टोली सहभागी

फागुन १७, काठमाडौं – नेपाल आइस पाँचौँ झापा गोल्ड कप २०७८ को खेलमा नेपाल र भारतका १० टोली सहभागी हुने भएका छन् । गत वर्ष कोभिडका कारण रोकिएको गोल्डकप यस वर्ष यही फागुन २१ देखि ३० गतेसम्म सञ्चालन गर्ने तयारी भइरहेको छ ।

विर्तामोड नगरपालिकामा रहेको डोमालाल रङ्गशालामा हुने खेल १० हजार दर्शकले हेर्न सक्ने गरी बाँसको प्यारापिट निर्माण गरिएको छ । खेलमैदानको घाँस काटेर र सरसफाइ गरेर चिटिक्क बनाइएको छ । खेलेको उद्घाटन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने आयोजक संस्थाले जनाएको छ ।उद्घाटन खेल सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच हुने गोल्ड कप समितिका महासचिव गजेन्द्र पौडेलले बताए । दोस्रो खेल फागुन २२ गते नेपाल पुलिस क्लबीच सङ्कटा क्लबले खेल्नेछ ।

तेस्रो खेल पहिलो खेलको विजेतासँग एपिएफ फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ । चौथो खेल दोस्रो दिनको विजेतासँग थ्री स्टार क्लबले खेल्नेछ । उकका अनुसार पाँचौँ खेल त्रिभुवन आर्मी फुटबलसँग भारत दार्जिलिङको एमएफसीले खेल्नेछ ।गोल्ड कपमा छैटौँ खेल झापा ११ फुटबल क्लबले भारत सिक्किमको आरपी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेल फागुन २७ गते र दोस्रो सेमिफाइनल खेल फागुन २८ गते हुनेछ भने फाइनल खेल फागुन ३० गते सोमबार हुने जनाइएको छ ।

पाँचौँ संस्करणको गोल्डकपको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार प्राप्त गर्नेछन् । गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख खर्च लाग्ने अनुमान गरिएको महासचिव पौडेलले बताए । प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही २१ हजार र उच्च गोलकर्तालाई २५ हजारसहितको पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई नौ हजार ९९९ दिइने तयारी छ ।रासस