आज संसद् बैठक बस्दै, एमसीसीबारे छलफल हुने

फागुन १५, काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने कार्यसूची छ।

शनिबार संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख छ। यसअघि लगातार दुईपटक सूचना टाँस गरेर स्थगित गरिएको बैठक आज बस्न लागेको हो।
गत आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरिएको थियो। त्यसयता दलका शीर्ष नेताहरू एमसीसीमा सहमति जुटाउन निरन्तर छलफलमा जुटेका छन्। यद्यपि, हालसम्म सहमति जुट्न भने सकेको छैन।

लगातार दुईपल्ट स्थगित भएर आज बस्न लागेको प्रतिनिधिसभा बैठकबाट अब एमसीसी अघि बढ्ला कि नबढ्ला भन्ने आम चासोको विषय बनेको छ।