महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा सफाइ

फागुन १४, काठमाडौ –महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रको वाग्मती किनार एवं सम्पदा क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रको आर्यघाट, वाग्मती किनार एव हंसमण्डप वरपर सफाइ गरिएको हो । यही फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ । वाग्मती सफाइ महाअभियानको ४५९औँ हप्तामा पशुपति क्षेत्रमा सफाइ गरी महाशिवरात्रिका लागि तयारी गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । सफाइबाट सात मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ ।

सफाइमा प्रदेशसभा सदस्य केशव स्थापित, पूर्वमुख्य सचिव एवं अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, नायिका करिश्मा केसी मानन्धर, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, काठमाडौँ महानगरपालिका वातावरण विभागका कर्मचारी, पशुपति क्षेत्र विकास कोषका कर्मचारी, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी र वागमती सफाइ अभियानकर्मीको सक्रियता थियो ।