राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम – झापाका ८८ विद्यालय छनोट

फागुन ८, बनियानी-  राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत झापाका ८८ विद्यालय छनोटमा परेका छन् । आर्थिक वर्ष २०७८÷७९ मा सो कार्यक्रमअन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि (आइसिटी) कक्षा सञ्चालन र प्रयोगशाला स्थापनाका लागि जिल्लाका १५ पालिकाका ८८ विद्यालय छनोटमा परेको शिक्षा विकास तथा समन्वय एकाइ झापाका प्रमुख राजकुमार विकले जानकारी दिए । ती विद्यालयका लागि कूल रू १७ करोड नौ लाख बजेट विनियोजन गरिएको छ ।

छनोटमा परेका विद्यालयमध्ये तीन विद्यालयमा प्रयोगशाला, ३० मा चारकोठे कक्षाकोठा निर्माण, २१ मा दुईकोठे कक्षाकोठा निर्माण र ३४ आइसिटी कक्षा सञ्चालनका लागि बजेट छुट्याइएको हो । ती विद्यालयमा आइसिटी कक्षा सञ्चालनार्थ प्रतिविद्यालय रु छ लाख ५० हजार, ल्याबका लागि प्रतिविद्यालय रु १० लाख, दुईकोठे कक्षाकोठा निर्माण गर्न प्रतिविद्यालयका लागि रु १८ लाख र चारकोठे कक्षाकोठाका लागि प्रतिविद्यालय रु ३६ लाख बजेट विनियोजन गरिएको छ ।

छनोटमा परेको मेचीनगरका सात विद्यालयमध्ये कक्षाकोठा निर्माणका लागि तीनवटा, ल्याब एक र आइसिटीका लागि तीन विद्यालय छनोटमा परेका छन् । त्यस्तै बिर्तामोडका पाँचमध्ये कक्षा कोठाका लागि तीन र आइसिटीका लागि दुई, झापा गाउँपालिका र गौरीगञ्जका चार–चारमध्ये कक्षाकोठा र आइसिटी दुई–दुई, बाह्रदशीका पाँचमध्ये कक्षाकोठा र आइसिटीका लागि दुई–दुई तथा ल्याबका लागि एक विद्यालय छनोटमा परेका छन् ।

यस्तै शिवसताक्षीका नौ विद्यालयमध्ये कक्षाकोठाका लागि पाँच, आइसिटी चार, हल्दिबारीका दुई विद्यालयलाई कक्षाकोठा निर्माणका लागि बजेट विनियोजन गरिएको छ । गौरादहमा नौ विद्यालयमध्ये कक्षा कोठाका लागि पाँच र आइसिटीका लागि चार, कचनकवलका तीन विद्यायमध्ये कक्षा कोठाका लागि दुई र आइसिटीका लागि एक, कमलका १० विद्यायमध्ये कक्षा कोठाका लागि सात र आइसिटीका लागि तीन विद्यालयलाई बजेट उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।

यस्तै अर्जुनधाराका आठ विद्यालयमध्ये कक्षा कोठाका लागि चार, आइसिटीका लागि तीन र ल्याब सञ्चालनका लागि एक विद्यालय छनोटमा परेका छन् भने बुद्धशान्तिका पाँच विद्यालयमध्ये कक्षा कोठाका लागि तीन र आइसिटीका लागि दुई विद्यालय छनोटमा परेका छन् ।

भद्रपुरका पाँच विद्यायमध्ये कक्षा कोठाका लागि तीन र आइसिटीका लागि दुई, दमकका सात विद्यायमध्ये कक्षा कोठाका लागि पाँच र आइसिटीका लागि दुई र कनकाईका पाँच विद्यायमध्ये कक्षा कोठाका लागि तीन र आइसिटीका लागि दुई विद्यालय छनोटमा परेको कार्यालयले जनाएको छ ।

बुद्धशान्ति–५ होक्सेस्थित त्रिभुवन मावि बुद्धशान्तिका प्रधानाध्यापक कुमार आचार्यले चारकोठे कक्षाकोठा निर्माणका लागि विद्यालय छनोटमा परेको बताए । उनले भने ‘ विद्यालयमा कक्षा कोठाको अभाव हट्नुका साथै सामुदायिक विद्यालयप्रतिको आकर्षण पनि बढ्छ ।’

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख राजकुमार विकले यहाँका विद्यालयमा कक्षाकोठा अभावको समस्यालाई हटाउन कार्यक्रम प्रभावकारी भएको बताए ।