सबै वडामा मेलमिलाप केन्द्र

फागुन ५, काठमाडौं –चाँगुनारायण नगरपालिकाका सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । वडास्तरमा हुने विवाद वडास्तरमा समाधान गर्ने उद्देश्यले नगरपालिकाले मेलमिलाप केन्द्र बनाएको हो । यसले नगरपालिकालाई विवादरहित बनाउन र असल समाज निर्माण गर्न सहज हुने विश्वास लिइएको छ ।

न्यायिक समितिका संयोजक एवं नगर उपप्रमुख बीना बास्तोलाले भनिन् ,“वडामा हुने विभिन्न खाले सामाजिक र विकास निर्माणका विवादलाई वडास्तरमा नै मेलमिलापको माध्यमद्वारा निरुपण गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको हो । ”

नगरपालिकाले केन्द्रलाई सञ्चालन गर्न वडागतरुपमै मेलमिलाप सहजकर्तासमेत छनोट गरी आवश्यक तालिमसमेत प्रदान गरिसकेको छ । नगरपालिकाले ३७ मेलमिलापकर्तालाई मेलमिलापसम्बन्धी ४८ घण्टे आधारभूत तालिम प्रदान गरेको हो ।

केन्द्रले नगरपालिकाको न्यायिक समितिमा आउने निवेदनको पक्ष र विपक्ष दुवैको रोहवरमा मेलमिलाप सहजकर्ताले आवश्यक छलफल गरी मेलमिलापका माध्यमबाट समस्याको समाधान गरिने उपप्रमुख बास्तोलाले जानकारी दिइन् ।

“कानूनबमोजिम मिलापत्र हुनसक्ने मुद्दाका सम्बन्धित पक्ष र विपक्षले आफैँले रोजेका मेलमिलापकर्ताको सहयोगमा विवादको सही, सरल र दिगो समाधान मेलमिलाप केन्द्रले गर्नेछ”, उनले भनिन्, “यसले पक्षबीच समझदारी, सामाजिक भावनाको विकास हुनाका साथै दुवै पक्षले जितेको अनुभूति हुनेछ ।” रासस