काठमाडौंमा चार मेट्रिक टन फोहर व्यवस्थापन

फागुन १, काठमाडौं – वाग्मती सफाइ महाअभियानको शनिबार ४५७औँ हप्तामा बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

सफाइका अवसरमा वाग्मती नदी किनारमा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठलाई सम्मान एवं स्वागत गरिएको थियो । सो अवसरमा उनी पनि सफाइमा सहभागी भएका थिए । सफाइमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेलगायत अभियानकर्मीको सक्रियता रहेको किशोरसिंह शाहीले जानकारी दिए ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु, वाग्मती फोहर उन्मूलन उपभोक्ता समाज, स्थानीयवासी, अधिकारसम्पन्न वाग्मती समितिका कर्मचारीको पनि सफाइमा संस्थागत सक्रियता थियो । सफाइका क्रममा अभियानकर्मीलाई गुर्जोको चिया सेवन गराइएको थियो । यसका लागि गुर्जो अभियानकर्मी राजेशमोहन प्रधान तथा अञ्जु राजलवटले सहयोग गरेका हुन् ।

यसैगरी मनोहरा सफाइ अभियानको २५६औँ हप्तामा बालकुमारी पुलमुनिको नदी किनार क्षेत्रमा सफाइ गरिएको छ । सफाइबाट एक गाडी फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्र दङ्गालले राससलाई जानकारी दिए । सफाइका क्रममा गुर्जो अभियानकर्मी प्रधान तथा राजलवटले चियाको व्यवस्था गरेका थिए ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ अभियान जारी छ । हप्तामा एक दिन शनिबार बिहान दुई घण्टा देशका लागि स्वयंसेवा भन्ने नाराका साथ अभियानकर्मी वाग्मती किनारमा सक्रिय हुने गरेका छन् । वाग्मतीबाट प्रभावित भई उपत्यकामा यसका सहायक नदी पनि सफाइ भइरहेको छ ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । हाल उपत्यका बाहिर १०९ स्थानमा सफाइ भइरहेको जनाइएको छ । उपत्यकामा भने २५ स्थानमा सफाइ भइरहेको छ ।