खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोगशाला

माघ २४, काठमाडौ -पाल्पाकोे रिब्दीकोट गाउँपालिकाले खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोगशाला सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले ४० प्रकारका रोगहरूको परीक्षण गर्न प्रयोगशालाको स्तरोन्नति गरिएको हो । यसअघि स्वास्थ्यचौकीमा २८ प्रकारका रोगको परीक्षण गर्दै आएको थियो ।

परीक्षणको दायरा फराकिलो बनाएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् । यसअघि स्वास्थ्य परीक्षणका लागि सदरमुकाम तानसेन धाउनुपर्ने बाध्यता थियो । स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षणको व्यवस्था गरेपछि सदरमुकाम सेवाका लागि जानुपर्ने समस्या टरेको हो ।

गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले गाउँपालिकामा एक मात्र प्राथमिक स्वास्थ्य चौकी रहेकाले नागरिकको स्वास्थ्य परीक्षणको दायरा वृद्धि गरी सहज बनाएको बताए। बिरामीहरूले सदरमुकाम तानसेन धाउँदा स्वास्थ्य बीमा सिफारिशको समस्यासमेत रहेको थियो । प्रयोगशालामा परीक्षणको व्यवस्था गरेसँगै बीमाको सिफारिशको समस्या समाधान भएको गाउँपालिका अध्यक्ष जिसीले बताए।

प्राथमिक स्वास्थ्य चौकीको प्रयोगशालाको स्तरोन्नतिपछि बिरामीको चाप बढ्ने छ । गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकसहितको उपचारको व्यवस्था गरेको बताए ।

चिकित्सक सुदन न्यौपानेले रिब्दीकोटको एक मात्र प्राथमिक केन्द्रमा प्रयोगशाला स्थापनापछि बिरामीलाई सेवा प्रवाहमा सहज हुने बताउनुभयो । हाल केन्द्रमा दैनिक ५० बिरामी आउने गरेका छन् । स्वास्थ्य संयोजक सुनिल अधिकारीले हाल प्राथमिक स्वास्थ्य संस्थाबाट २८ सेवा प्रदान गरिने भएतापनि सेवा थपिएकाले जिल्लास्तरका अस्पतालबाट प्रदान गरिने सेवा खस्यौलीबाट प्रदान गरिने बताए ।