लुम्बिनी प्रदेशसभाबाट ६७ विधेयक पारित

माघ १८, लुम्बिनी – लुम्बिनी प्रदेशसभा स्थापना भएको चार वर्षको अवधिमा ६७ विधेयक पारित भएका छन् । प्रदेशसभा स्थापनादेखि अहिलेसम्म दर्ता भएका ७४ विधेयकमध्ये ६७ विधेयक पारित भएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । दर्ता भएका विधेयकमध्ये दुई विधेयक विषयगत समितिमा र एउटा प्रदेशसभा सचिवालयमा विचाराधीन छन् । अन्य चार विधेयकमध्ये प्रदेशसभाबाट एक र प्रदेशसभाको विषयगत समितिबाट तीन विधेयक फिर्ता भएका छन् ।

राष्ट्रिय राजनीति विभाजित भएपछि लुम्बिनी प्रदेशसभामा पनि त्यसको प्रत्यक्ष असर परेको र गठबन्धन सरकार निर्माणपछि लगातार भएको प्रदेशसभाको अवरोधले राजनीतिक सहमति नबन्दा नयाँ विधेयक नआउनाले प्रदेशसभाले ‘बिजनेश’ पाउन सकेको छैन तर अहिले प्रदेशसभा नवौँ अधिवेशन अन्त्यपछि सञ्चालन भएको छैन ।

गठबन्धन सरकार बनेपछि आवधिक विधेयकका रूपमा आर्थिक वर्ष २०७८÷७९ को सेवा र कार्यका लागि लुम्बिनी प्रदेश प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (दोस्रो) र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (दोस्रो) दुई विधेयकमात्रै पारित भएको लुम्बिनी प्रदेशसभाले जनाएको छ ।

तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्वको सरकारका पालामा अधिंकाश विधेयक दर्ता भएर पारित तथा प्रमाणीकरण भएका छन् । ‘उनीहरुले नियमित अवरोध गर्नुभएको छ तर राष्ट्रिय जनमोर्चाको माननीयज्यू विपक्षमा बसेर प्रदेशसभाको बैठक सञ्चालन भइरहेको अभ्यास छ ’लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले भने ।

उनले प्रदेशसभामा अवरोध भएका कारणले विधेयक नआएको भन्ने विषय गलत भएको जिकिर गर्दै प्रदेशसभाले आफ्नो काम गरिरहेको बताए । लुम्बिनी प्रदेशसभामा नेकपा (एमाले) का ३७, नेपाली कांग्रेसको १९, नेकपा (माओवादी केन्द्र)को १९, जनता समाजवादी पार्टी नेपालको चार, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) एक, राष्ट्रिय जनमोर्चा एक र स्वतन्त्र एक सदस्य छन् ।

लुम्बिनी प्रदेशसभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीले विगतमा जस्तो विधेयक प्रदेशसभामा दर्ता नभएको उल्लेख गर्दै आवधिक विधेयकका रूपमा दुई विधेयक पारित भएको बताए । ‘राजनीतिक सन्तुलन नहुँदा त्यसको प्रभाव प्रदेशसभामा पनि देखिएको छ ’ उनले भने प्रदेशसभाले यही माघ २१ गते स्थापना दिवस मनाउँदैछ ।