संखुवासभामा चारदलीय संयन्त्र गठन

माघ २, संखुवासभा – चार दलीय गठबन्धनको बैठकले अरुण तेस्रो जलविद्युत् आयोजनाका प्रभावितको समस्या समाधानका लागि विशेष पहल गर्ने निर्णय गरेको छ ।

जिल्लाभित्र निर्माण हुने र निर्माणाधीन आयोजनाहरुको सूक्ष्म अध्ययन तथा निगरानी राख्ने र जिल्लामा हुने अनियमितता, भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने र सुशासन कायम गराउने पनि बैठकले निर्णय गरेको छ । सत्ता साझेदार दलहरु नेपाली कांग्रेस , नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको हालै सम्पन्न बैठकले सो निर्णय गरेको हो ।

यसका लागि कांग्रेस सङ्खुवासभाका सभापति दीपक खड्काको संयोजकत्वमा जिल्लास्तरीय राजनितिक संयत्र गठन गरिएको छ । समितिको सदस्यमा एकीकृत समाजवादीका जिल्ला संयोजक हेमराज घिमिरे, माओवादी केन्द्रका अध्यक्ष कृष्ण जिमी र जनता समाजवादी पार्टीका अध्यक्ष कवानसेन राई रहनुभएका कांग्रेसका महाधिवेशन प्रतिनिधि दीपेन्द्र वान्तवाले जानकारी दिए ।