वीरेन्द्रनगरमा ठूलो क्षमताको अक्सिजन प्लान्ट

पुस २९, वीरेन्द्रनगर – वीरेन्द्रनगरस्थित कटकुवा नगर अस्पतालमा ठूलो क्षमताको अक्सिजन प्लान्ट जडान भई उत्पादन सुरु गरिएको छ । करिब रु डेढ करोड लागतमा मेडिकल अक्सिजन प्लान्ट निर्माण गरी उत्पादन परीक्षण सफल भएको अस्पतालले जनाएको छ ।

दोस्रो चरणको कोरोना महामारी उत्कर्षमा पुगेका बेला वीरेन्द्रनगर नगरपालिकाले चौधरी ग्रुपसँगको सहकार्यमा प्लान्ट स्थापनाको काम थालेको थियो ।

‘प्लान्ट नियमित सञ्चालनका लागि तयारी अवस्थामा राखिएको छ, अब सुर्खेतमा अक्सिजनको अभाव हुने अवस्था आउने छैन ’ नगरपालिकाका जनस्वास्थ्य शाखा निरीक्षक भूपेन्द्रदेव गिरीले भने ‘प्लान्ट जडान गरी उत्पादनका लागि तयारी अवस्थामा राखिएको छ, आवश्यक पर्नासाथ सिलिन्डरमा भरिनेछ । ’

उनका अनुसार प्लान्टबाट २४ घण्टामा ४० लिटरका १५० थान सिलिन्डरमा अक्सिजन भर्न सकिनेछ । उत्पादन क्षमता धेरै भएकाले यसले प्रदेशकै मेडिकल अक्सिजन अभाव टार्न मद्दत पुुग्ने अपेक्षा गरिएको छ । वीरेन्द्रनगरमै प्लान्ट सञ्चालन हुँदा कोरोना सङ्क्रमणका गम्भीर बिरामीदेखि स्वासप्रस्वासमा समस्या भएकालाई उपचारमा निकै राहत हुने जनस्वास्थ्य निरीक्षक गिरीको भनाइ छ ।

यसैबीच प्रदेशका पाँच जिल्लाका अस्पतालले अझै प्लान्ट सञ्चालनमा ल्याउन सकेका छैनन् । प्रदेश र सङ्घीय सरकारको सहयोगमा प्लान्ट जडानको प्रक्रिया अघि बढाइए पनि ती जिल्लामा प्लान्ट निर्माणको काम सम्पन्न हुन नसकेको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले रुकुम पश्चिम, सल्यान, मुगु, डोल्पा र हुम्लाका अस्पतालमा अक्सिजन प्लान्ट जडान नभएको जनाएको छ । कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्षमा आठ जिल्लामा मिनी अक्सिजन प्लान्ट स्थापनाका लागि प्रतिजिल्ला रु ४० लाखका दरले बजेट विनियोजन गरेको थियो ।