चिसो बढेसँगै छालामा सङ्क्रमणको खतरा

पुष २०, चितवन-  चितवनसहित देशको तराईमा दिनहुँ तापक्रमको गिरावट भई चिसो बढ्ने क्रमसँगै विभिन्न खालका स्वास्थ्य समस्या देखिन थालेका छन् । अत्यधिक चिसो बढेपछि बिरामीको सङ्ख्यामा वृद्धि भएको भन्दै चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् ।

नवलपुर र चितवनसहित तराईका जिल्लामा पुस १५ पछि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै चितवनसहित तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिराले जनजीवन कष्टकर बन्दै गएको छ । भरतपुर अस्पतालका छालारोग विशेषज्ञ डा प्रशन्न नापेले चिसोबाट विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने भएकाले सावधानी अपनाउन सुझाव दिएका छन् ।

जाडो महिनामा विशेषगरी मानव छालामा पानीको मात्रामा कमी हुने, छाला सुक्खा हुनेहुँदा छालासम्बन्धी समस्या देखापर्ने गरेको डा नापेले बताए । ‘ छालामा हुने सुक्खापनका कारण सोरायसीस, इथायसीसजस्ता रोग तथा सङ्क्रमणका कारण लुतोजस्ता रोग बढी मात्रामा देखिने गरेको छ । ’

चिसोको एलर्जी हुने मान्छेले पञ्जा लगाएर काम गर्नुपर्ने डा नापेको सुझाव छ । छालामा सङ्क्रमण देखिएको अवस्थामा उपचार गर्नुपर्ने, आफैँले जथाभावी औषधि प्रयोग गर्नुभन्दा पनि छालारोग विशेषज्ञलाई देखाउनुपर्ने डा नापेको भनाइ छ ।

चिसोमा छालामा देखिने सोरायसी भन्ने रोग बल्झिन पनि सक्ने भएकाले चिकित्सकलाई देखाएरमात्रै औषधि सेवन गर्न डा नापेले सल्लाह दिए ।
भरतपुर अस्पतालका वरिष्ठ छालारोग विशेषज्ञ डा शशि हिराचनले जाडोमा शरीरलाई चिल्लो पार्न भन्दै तोरीको तेल लगाउने प्रचलन भएको उल्लेख गर्दै तोरीको तेलभन्दा नरिवलको तेल प्रयोग गर्नु उपयुक्त हुने बताए ।

जाडोका कारण मानिसको छालामा समेत टिबी रोग लाग्ने भन्दै वरिष्ठ छालारोग विशेषज्ञ डा हिराचनले टिबीका कारण मानिसको सबै अङ्गमा प्रभाव पर्न सक्ने बताए । छालामा देखिने टिबी पुरानो खालको दादजस्तो देखिने भएकाले त्यसको बायोप्सी परीक्षण गर्नुपर्ने डा हिराचनले बताए ।
‘छालामा देखिने पुरानो दादजस्तो रोग टिबी हुनसक्छ ’ डा हिराचनले भने ‘ त्यो कस्तो प्रकारको रोग हो भनेर बायोप्सी गरेपछि मात्रै थाहा हुन्छ, जथाभावी औषधि सेवन गर्ने र लगाउने गर्दा त्यसले असर गर्नसक्छ । ’ छालामा देखिएको दादजस्तो भागको वरिपरि बिबिरा आएर बढ्दै जाने अवस्थाको रोग छालाको टिबी हुनसक्ने डा हिराचनको भनाइ छ ।

चिसो मौसममा विभिन्न प्रकारका सरुवा तथा नसर्ने रोगको सङ्क्रमण देखिने गरेको छ । चिसोले गर्दा श्वासप्रश्वाससहित जण्डिस, एलर्जी, नाक बन्द हुनेसहितका दीर्घरोगीसमेत बढ्ने गरेका छन् । पछिल्लो समय विशेषगरी चिसोकै कारण रक्तचापका बिरामी बढेका भरतपुर अस्पतालका अध्यक्ष वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीले बताए ।

कोभिडको त्रासका कारण धेरै मानिस घरभित्रै बस्ने, खानपान बढी हुने, नुनिलो र चिल्लो पदार्थ बढी सेवन गर्ने तथा व्यायामका लागि बाहिर ननिस्कने कारण उच्च रक्तचाप र मधुमेहका बिरामी बढ्दै गएका डा अधिकारीले बताए ।