शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा जलपक्षी गणना सुरु

पुष १८, काठमाडौं – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा शनिबारदेखि जलपक्षी गणना सुरुआत गरिएको छ । निकुञ्जभित्रका र बाह्य क्षेत्रका तालतलैया तथा नदीमा जलपक्षी गणना सुरु गरिएको हो ।

गणना अगामी माघ २ गतेसम्म जारी रहने छ । यसका लागि निकुञ्ज कार्यालयका कर्मचारी, नेपाल पक्षी संरक्षण सङ्घका विज्ञहरु, हिमाली प्रकृति, एनटिएनसी, नेचर गाइड एशोसिएशनका प्रतिनिधिलगायतको सहभागिता छ । गणनामा संलग्नले वाइनाकुलर, टेलिस्कोप, क्यामेरालगायतको प्रयोग गरिएको सङ्घका चराविज्ञ हिरुलाल डगौराले जानकारी दिए ।

स्थलगतरूपमा पुगेर र कुनै ठाउँमा डुङ्गालगायतमा चढेरसमेत जलपक्षी गणना हुने उनले बताए । उनका अनुसार रानीताल, ताराताल, कालीकिच ताल, बेदकोट, बन्दाताल, पुरैनीताल, प्याराताल, स्याली नदी, चौधर नदी र सीमसार क्षेत्रमा जलपक्षी गणना हुने छ । अरु ताल र नदीमा पैदल हिँडेरै गणना हुने भए पनि निकुञ्जभित्रको सलगौँडी तालमा भने हात्तीमा चढेर गणना हुने छ ।

‘तालतलैया तथा सिमसार क्षेत्रका रैथाने र आगन्तुक चराको वितरण र अवस्था पत्ता लगाउन, सङ्ख्याको अद्यावधिक गर्न, संरक्षणमा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई सचेतना अभिवृद्धि र संरक्षणमा हातेमालोका लागि हरेक वर्ष जलपक्षीको अनुगमन र गणना हँुदै आएको छ ’ उनले भने यस वर्ष जलपक्षीले बस्ने तालको अवस्थाका बारेमा समेत जानकारी लिन्छौँ । तालबारे जिपीएस लोकेशनसमेत लिन्छौँ । ‘पानीको सतह विगतमा कस्तो थियो ? अहिले कस्तो छ ? यसबारे रेकर्ड राख्छौं ’उनले भने

गत वर्षको गणनामा निकुञ्ज र बाह्य क्षेत्रका तालतलैयामा जलपक्षी गणनाका क्रममा विश्वकै दुर्लभ सारस, भुडिफोर गरुड, कैले टाउके हाँसलगायत ४८ प्रजाति देखापरेका थिए । तालतलैयामा जलपक्षीको सङ्ख्या यकिन गर्ने कार्यसँगै सिमसारको अवस्थाबारेमा समेत अध्ययन हुने विज्ञ डगौराले बताए । रासस