राजमार्ग विस्तारका क्रममा अप्टिकल फाइबर काटिँदा नेटवर्क समस्या

पुष १६, कावासेती-  राजमार्ग विस्तारका क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा दिनहुँजसो नेटवर्कको समस्या हुन थालेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर क्षेत्रमा नारायणगढ–बुटवल सडक विस्तारका क्रममा पटक–पटक अप्टिकल फाइबर काटिँदा नेटवर्कको समस्या भएको हो ।

बिहीबारमात्रै अरुणखोला क्षेत्रमा बाटो विस्तारका क्रममा अप्टिकल फाइबर काटिँदा दिनभरजसो नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या भएको थियो । यो समस्या नवलपुरमा अहिले पटक–पटक हुन थालेको छ । मोबाइलमा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने गर्दा नेपाल टेलिकमका सेवाग्राही समस्यामा परेका छन् । नेपाल टेलिकमको मोबाइल र ल्याण्डलाइन फोन दुवैमा समस्या हुने गरेको छ ।

जिल्लाको गैँडाकोट थुम्सीबाट दाउन्नेसम्मका सेवाग्राही समस्यामा पर्दै आएका छन् । गैँडाकोट बजार क्षेत्रमा भने भरतपुरबाट सेवा प्रवाह हुने भएकाले समस्या नभएको नेपाल टेलिकम कावासोती शाखाका कार्यालय प्रमुख चन्दनकुमार झाले जानकारी दिनुभयो । गैँडाकोट बजार क्षेत्रबाहेक अन्य ठाउँमा भने बाटो विस्तारको क्रममा अप्टिकल फाइबर काँटिदा समस्या भएको उनले बताए ।

पटक–पटक विभिन्न क्षेत्रमा तार काँटिदा समस्या बल्झिएको उनले बताए । प्राविधिकले तार काटिएका ठाउँमा मर्मत गरी सेवा प्रदान गर्न खटिएको भए पनि बाटो विस्तारका क्रममा पटक–पटक तार काँटिदा समस्या जटिल बन्दै गएको कार्यालय प्रमुख झाले सुनाउनुभयो । बाटो विस्तारका क्रममा अप्टिकल फाइबर भएको क्षेत्रको पहिचान गरी सावधानी नअपनाउँदासमेत समस्या भएको छ ।

धेरै ठाउँमा काटिएका तार मर्मत गरी सेवा प्रदान गरिएकाले कुनै पनि समय सेवा अवरुद्ध हुनसक्ने र सेवाको गुणस्तर कम हुनसक्ने कार्यालय प्रमुख झाले बताए । ‘पटक–पटक तार काटिएको छ, जसोतसो मर्मत गरी सेवा प्रदान गरिरहेका छौं ’ कार्यालय प्रमुख झाले भने ‘ तारमा धेरै क्षति भएकाले सेवा कुनै पनि समय अवरुद्ध हुने, कम गुणस्तरको हुने, बोलेको नबुझिने हुने समस्या आउन सक्छ ।’
यसअघि बिछ्याइएका नेपाल टेलिकमका तार पुरानो बाटो नजिकै रहेका र अहिले विस्तार गर्दा ती तार झण्डै बाटोको बीच भागमा पर्ने अवस्था छ । यही अवस्थामा सेवा प्रदान गर्न समस्या हुने कार्यालय प्रमुख झाले बताउनुभयो । नयाँ अप्टिकल फाइबरसहित व्यवस्थापनका लागि हालै केन्द्रबाट कुनै योजना नरहेको उनले बताए ।