नारायणगढ–बुटवल सडकको म्याद थप गर्ने तयारी

पुष १५, काठमाडौं – पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा विभिन्न कारणले बाधा उत्पन्न भएको भन्दै निर्माण पक्षले म्याद थपको माग गरेको छ । सडक विस्तार सुरु भएपछि खास गरी कोरोनाका कारण निषेधाज्ञा जारी गरिँदा सडक विस्तारको काम प्रभावित भएको भन्दै निर्माण पक्ष चाइना स्टेट इन्जिनियरिङले म्याद थपको माग गरेको हो ।

नारायणगढ–बुटवल सडक योजना (पूर्वी खण्ड)ले म्याद थपको माग भएको जानकारी दिएको छ । योजना प्रमुख रमेशकुमार दिष्टीले निर्माण पक्षले सडक विस्तारको म्याद थप गर्न माग गर्दै कन्सल्टेन्सलाई कागजपत्र बुझाएको बताए । ‘सडक विस्तारको सबै काम कन्सल्टेन्टले हेर्छ’ उनले भने ‘हामीले त अनुगमन र निर्देशन दिने मात्रै हो । ’निर्माण पक्षले म्याद थप गर्न माग गरेका कारण चित्त बुझ्दो भएको अवस्थामा कन्सल्टेन्टले नारायणगढ–बुटवल सडक योजनालाई सिफारिस गर्ने दिष्टीले बताए ।

‘म्याद थपका लागि सम्झौतामा भएको प्रावधानअनुसार निर्माण व्यवसायीले कन्सल्टेन्टमा कागजपत्र पेस गरेको छ ।’ उनले भने ‘सडकको कामको मूल्याङ्कन भइरहेको छ, म्याद थप कति समयका लागि उचि लाग्छ सोहीअनुसार प्रक्रिया अगाडि बढ्छ । ’कन्सल्टेन्टले म्याद थपको सबै फाइल तयार पारेर योजनालाई पठाउने दिष्टीले बताए ।

पछिल्लो समय सडक विस्तारको कामले गति लिएको भन्दै दिष्टीले म्याद थप गरेर भए पनि समयमा नै निर्माणको काम सक्नुपर्ने बताउनुभयो । निर्माण पक्षले दुई वर्ष म्याद थप गर्न माग गरेको भए पनि उनीहरुले मागेकै भरमा म्याद थप नहुने उनको भनाई छ । ‘ कति समय म्याद थप गर्नु उचित हो भन्ने कुरा मूल्याङ्कनपछि सिफारिस हुन्छ ’

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले पछिल्लो तीन महिनामा सडक विस्तारले गति लिएको बताउनुभयो । एक वर्षजति म्याद थप गरेर त्यो मितिभित्र सडक निर्माणको काम सकाउनुपर्ने उनको भनाइ छ ।

नेपाल सरकारले विसं २०७५ माघ २४ मा सडक विस्तारका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । सम्झौता मितिबाट ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी सडक विस्तारको काम सुरु भएको थियो । सडक विस्तारको काम २०७९ साउन २२ मा सक्नुपर्ने गरी सम्झौता भएको थियो भने विसं २०७५ पुस ८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा सडक विस्तारको शिलान्यास गर्नुभएको थियो ।

विसं २०१८ सालमा राजा महेन्द्रले गैँडाकोटबाट शिलान्यास गर्नुभएको सडक ५८ वर्षपछि विस्तार गर्न लागिएको हो । दुई लेनमा रहेको यो सडक विस्तारपछि चार लेनको हुनेछ भने सहरी क्षेत्रमा अतिरिक्ति दुई लेन (सर्भिस लेन) थप हुनेछ । दाउन्नेको उकालोमा करिब चार किलोमिटर सडक भने तीन लेनमा मात्रै विस्तार हुने सडक योजनाले जनाएको छ । भौगोलिक कठिनाइका कारण दाउन्नेमा उकालो चढ्नका लागि दुई लेन तथा ओरालो झर्नका लागि एक लेन हुनेछ ।