स्वदेशी माछा दानाले पाएन बजार

पुष ५, चितवन –  यहाँ उत्पादित माछाको तयारी दानाले बजार नपाउँदा समस्या भएको छ । मत्स्यपालक किसानको लगानीमा स्थापना गरिएको चितवन सामुदायिक माछा दाना उद्योगमा उत्पादित दानाले बजार पाउन कठिन भएको लगानी कर्ताहरुले गुनासो गरेका छन् ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका–१६ पिठुवामा सञ्चालनमा रहेको उद्योगमा डुव्ने दाना (सिंकिङ) दाना प्रतिघण्टा ३ टन र तैरने (फल्टिङ) दाना प्रतिघण्टा २ टन उत्पादन गर्ने क्षमता छ । उद्योगका अध्यक्ष वुद्धिराज चौधरीले आयातित माछा दानासँग यहाँ उत्पादित दानाले प्रतिस्पर्धा गर्न नसक्दा समस्या भएको जानकारी दिए ।

उनले भने ‘लागत मूल्य बढी पर्दा बजार पाउन सकेन । ’ नेपालमा उत्पादित दानाको मूल्य र आयातित दानाको मूल्यमा नेपालको दानाको मूल्य केही बढी पर्ने भएकाले महँगो पर्ने भन्दै माछा पालक कृषकले स्वदेशीभन्दा विदेशी दानाको प्रयोग बढी गरेको उनको भनाई छ ।

माछालाई आवश्यक पर्ने तत्व रहेको नेपाली दानाभन्दा कमशल दानाको प्रयोग बढी हुने गरेको उहाँले दुखेसो गरे ।

उनका अनुसार दानामा प्रयोग हुने कच्चापदार्थ भन्दा भारतबाट आयातित कम गुणस्तरको तयारी दानाको मूल्य कम पर्दा प्रतिस्पर्धा गर्न समस्या भएको हो । नेपाल सरकारले एक जिल्ला एक उत्पादन कार्यक्रमअन्तर्गत रु एक करोड ९० लाख २५ हजार अनुदान र मत्स्य व्यवसायीको गरी रु १८ करोडको लगानीमा निर्माण गरिएको हो ।

रत्ननगर उद्योग वाणिज्य सङ्घको अगुवाइमा निर्माण गरिएको यस उद्योगबाट उत्पादित दाना चितवनसहित बर्दिया, कैलालीलगायत जिल्लामा खपत भए पनि अपेक्षाकृत रुपमा बजार पाउन नसकेको पाण्डेले बताए ।
नेपाल मत्स्य व्यवसायी सङ्घ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीले स्वदेशमा उत्पादित दानालाई सरकारले प्रवद्र्धन गर्नुपर्ने बताए । उनले भने ‘लागत मूल्य घटाउन कच्चा पदार्थको भन्सार छुटको व्यवस्था गरिदिनु पर्छ ।
जिल्लामा मात्र एक हजार ३०७ जना माछापालक किसान रहेका छन् । यहाँ गत वर्ष चार हजार ३८ मेट्रिकटन माछा उत्पादन भएको थियो । यस वर्ष ६ हजार ६५३ मेट्रिकटन माछा उत्पादन गर्ने लक्ष्य लिइएको उहाँले जानकारी दिए ।

नेपाल मत्स्य व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष अम्बिका अधिकारीले जाडो मौसम सुरु भएसँगै माछाले दाना कम खाने भएकाले बजारमा दाना बिक्री नभएको बताए । उनले भने ‘ नेपालमा पालिने माछा न्यानो पानीमा हुने भएकाले जाडो मौसममा दाना कम प्रयोग हुने गर्दछ । ’
नेपालमा उत्पादित दानाको मूल्य केही महँगो भएका कारण पनि समस्या आएको उहाँको भनाइ छ । भन्सारमा कच्चा पदार्थको मूल्य भन्दा आयातित दानाको मूल्य कम रहेका कारण पनि नेपालमा उत्पादित दाना बिक्री वितरणमा समस्या आएको उहाँले बताउनुभयो । नेपालमा हाल १२ हजारभन्दा बढी व्यावसायिक रुपमा माछापालन गर्ने कृषक छन् ।