भवन बनाउन जग्गा दान

पुष ५, काठमाडौं – आफ्नै बसोबासको नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि एक महिलाले एक करोडभन्दा बढी मूल्यको जग्गादान गरेका छन् । भङ्गाहा नगरपालिका–५ सीतापुर बजारकी फुली साह सुँडीले सो मूल्यको जग्गा दान गरेका हुन् ।

उनले आइतबार मालपोत कार्यालय बर्दिबासमा पुगेर नगरपालिकाका नाउँमा हाल भङ्गाहा–५ मै रेल्वे स्टेसन नजिकको १० कठ्ठा १९ धुर जग्गा रजिष्ट्रेसन गरी दिएका हुन् ।

आफ्नो जग्गा र भवन नहुँदा यसअघि भाडामा लिइएको घरमा सञ्चालन हुँदै आएको कार्यालय केही महिना पहिले नगरप्रमुख सञ्जिवकुमार साहले आफ्नो निजी भवनमा सारेका हुन् ।

अहिले जग्गा प्राप्त भएपछि अब आफ्नै प्रशासकीय भवन निर्माण गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले बताए ।

‘अब जग्गा भयो, नगर कार्यपालिकाको निर्णयअनुसार भवन निर्माण प्रक्रिया अघि बढ्छ ’ उनले भने नगरप्रमुख साहले प्रशासकीय भवन निर्माणको काम अब थालिने जानकारी दिए ।