यसरी गरौं उचित खाद्यान्न छनोट

 

पुष १, काठमाडौं  – हामीले खानपानमा विशेष सजगता अपनाउनुपर्छ । खाद्यवस्तुलाई राम्ररी पखालेर खानुपर्छ भने पानी फिल्टर गरेर मात्र पिउनुपर्छ । खाना पनि उचित तापक्रममा पकाएर खानुपर्छ । बजारबाट ल्याएका फलफूल तथा तरकारीलाई मनतातो पानीमा १० मिनेट डुबाएर पखाल्नुपर्छ ।

भिटामिन ‘सी’ युक्त कागती, अमला, अम्बा, किबी, स्ट्रबेरी, गोलभेंडा आफ्नो दैनिक थालीमा समावेश गर्नुपर्छ । यसले शरीरमा रोगप्रतिरक्षा प्रणाली बलियो बनाउनुका साथै छाला स्वस्थ राख्न सहयोग गर्छ ।

भिटामिन ‘डी’ पाइने अण्डा, चीज, कलेजो आफ्नो खानामा समावेश गर्नुपर्छ । यी खाद्यपदार्थ पनि रोगप्रतिरक्षाका लागि महत्वपूर्ण मानिन्छन् ।

स्न्याक्सका रूपमा भुटेको बदाम, काजु, आल्मोन्ड खान सकिन्छ । यी खाद्यपदार्थमा फ्याटी एसिड, ओमेगा ३ पाइने हुनाले आँखा र छालालाई संक्रमण हुनबाट जोगाउनुका साथै मुटुलाई पनि स्वस्थ राख्छ ।

टुसा उमारेको चना, राजमा, केराउ, प्याज, गाजर, गोलभेंडा, कागती, काँक्रा मिसाएर सलादका रूपमा खान सकिन्छ । यस्तो सलाद स्वास्थ्यवर्द्धक हुन्छ ।