चौतारा साँगाचोकगढी नगरपालिका आफ्नै भवनमा

मंसिर २८, सिन्धुपाल्चोक – भाडा र सापटी घरमा बसेर प्रशासनिक काम गर्दै आएको चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण गरेको छ । एक समारोहकाबीच नगरपालिकाका प्रमुख अमानसिं तामाङले सोमबार सो भवनको उद्घाटन गरेका छन् ।

लामो समय भाडाको घरबाट सेवा सञ्चालन गरिरहेको नगरपालिकाले पछिल्लो समय तत्कालीन कृषि विकास कार्यालयको भवनबाट प्रशासनिक कामकाज सञ्चालन गरिरहेको थियो । ‘

हामी निर्वाचित भएर आउँदा आफ्ना लागि बस्ने कोठासमेत थिएन ।’ नगरप्रमुख तामाङले बताए , ‘अब हामीलाई जनताको सेवा गर्न झन् धेरै सहज हुनेछ ।’ अहिले नगरपालिकाले सबैजसो वडा कार्यालयको भवनसमेत निर्माण गरिसकेर आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको उनले बताए ।

नगरपालिकाको आफ्नै स्रोतबाट रु सात करोड २५ लाख ४९ हजार खर्च गरी सो भवन निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद पौडेलले बताए ।

विसं २०७४ बाट निर्माण सुरु गरी तीन वर्षमा सम्पन्न गरिएको हो । नगरपालिकाका धेरैजसो शाखाका सेवा नयाँ भवनबाट प्रदान गरिने छ भने शिक्षा, पशु सेवा, कृषि सेवालगायत सेवा भने स्थान अभावका कारण पुरानै भवनबाट प्रदान गरिनेछ ।