कांग्रेस महाधिवेशन – १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

मंसिर १९, काठमाडौं -नेपाली कांग्रेसको १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका चार र सप्तरी एक निर्वाचन क्षेत्रबाहेक सम्पूर्ण निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको राससलाई जानकारी दिए ।

‘सर्लाहीको चार निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्नका लागि नयाँ निर्वाचन अधिकृत खटाइसकेका छौँ, सप्तरी निर्वाचन क्षेत्र नं ४ मा आज निर्वाचन हुदैछ ।’ उनले भने । कांग्रेस महाधिवेशनका लागि ६३ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । यस्तै सात प्रदेशमध्ये छ प्रदेशको अधिवेशन सुरु भइसकेको र केही प्रदेशको नतिजासमेत आइसकेको उनले बताए ।

प्रदेश नं २ बाहेक सबै प्रदेशको अधिवेशन प्रारम्भ भइसकेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पदाधिकारीको नतिजा आइसकेको छ भने प्रदेश नं १ र लुम्बिनी प्रदेशको मतगणना भइरहेको र बागमती प्रदेशको सभापति पदमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत नकटाएकाले पुनः मतदान हुने निर्वाचन संयोजक घिमिरेले बताए ।

कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर २४ गतेदेखि काठमाडौँमा हुँदैछ ।