कांग्रेस महाधिवेशनः कास्कीका तीन वटै क्षेत्रमा चुनिए सभापति

मंसिर ९, कास्की नेपाली कांग्रेस कास्कीको क्षेत्रीय अधिवेशनमा तीन वटै क्षेत्रमा चुनिए सभापति चुनिएका छन् ।क्षेत्र नम्बर १ को सभापतिमा राजेन्द्रमणी लामिछाने भारी मतसहित विजयी भएका छन्।

निकटतम प्रतिस्पर्धी बुद्धिमान गुरुङलाई १२८ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। लामिछानेले ४५८ मत पाए भने गुरुङको ३३० मत छ। लामिछाने जिल्ला सभापति कृष्ण केसी गुटका हुन् भने गुरुङ पूर्व सभापति यज्ञबहादुर थापाको टिमबाट चुनाव लडेका थिए।

समितिको सचिवमा सरोज केसी र ओम प्रकाश गुरुङ विजयी भएका छन्। सहसचिवमा सुजता गुरुङ र मोती गिरी विजयी भए। सहसचिव गिरी थापा प्यानलमा थिए।

क्षेत्र नम्बर २ को सभापतिमा केशरप्रसाद निर्दोषी निर्वाचित भएका छन्। उनले निकटतम प्रतिस्पर्धी पुण्डरीप्रसाद बराललाई १७ मतान्तरले हराएका हुन्। निर्दाेषीले २४७ मत पाए भने बरालले २३० मत ल्याए।

निर्दोषी जिल्लामा देवराज चालिसे गुटका हुन् भने बराल शुक्रराज शर्मा प्यानलमा थिए। सचिवमा देवकृष्ण पराजुली र नरेन्द्र अधिकारी विजयी भएका छन् भने सहसचिवमा भावना श्रेष्ठ र विश्वराज आचार्य विजयी भए। सचिव पराजुली र सहसचिव श्रेष्ठ निर्दोषी भन्दा फरक प्यानलबाट आएका हुन्।

क्षेत्र नम्बर ३ को सभापतिमा मनोज गुरुङ निर्वाचित भए। देउवा निकट उनी ३८३ मत सहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी खिमलाल बास्तोला ३१७ मत ल्याए। सचिवमा मेखबहादुर तामाङ र लक्ष्मीप्रसाद पौडेल विजयी भएका छन्। सहसचिवमा शीतल अधिकारी र आइन्दल गुरुङ निर्वाचित भएका छन्।