माओवादी नेता बन्जाडेको सवारी दुर्घटनामा निधन

मंसिर ८, रुपन्देही-  नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को सवारी दुर्घटनामा निधन भएको छ। माओवादी केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज बञ्जाडे बुटवलको जितगढीमा मंगलबार साँझ दुर्घटनामा परेका थिए।

सवारी दुर्घटनामा परी गम्भीर घाइते उनको बुधबार बिहान ५ बजे बुटवलको मर्सिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। पार्टी कामकै शिलशिलामा उनी दाङबाट बुटवल फर्किदै थिए। बञ्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ५ ख ९०६ नम्बरको यात्रुबाहक बसले बुटवलको जितगढीमा ठक्कर दिएको थियो। जितबहादुर रानामगरले चलाएको मोटरसाइकलमा उनी पछाडि सवार थिए। दुर्घटनामा परी रानामगरसमेत घाइते भएका छन् ।

बञ्जाडेको निधनप्रति नेकपा माओवादी केन्द्र रुपन्देहीले गहिरो दुःख प्रकट गरेको छ। उनको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको माओवादी केन्द्र रुपन्देहीले जनाएको छ ।