द्वन्द्वकालका दोषीलाई कारबाही हुनुपर्छः ओली

मंसिर ५, काठमाडौं -नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले १० वर्षे माओवादी सशस्त्र द्वन्द्वमा भएका मानवता विरोधी घटनाकम दोषीलाइ कारबँही हुनुपर्ने बताएका छन् ।

२०५२ सालमा सुरु भएको सशस्त्र जनयुद्ध रोक्ने ५ मंसिर २०६३ को सरकार र नेकपा माओवादीबीच भएको विस्तृत शान्ति सम्झौतामा हस्ताक्षरको पन्ध्र वर्ष पूरा भएको उपलक्ष्यमा आइतबार वक्तव्य जारी गर्दै ओलीले दोषीलाई कारबाही हुनुपर्नेमा जोड दिएका छन् ।

‘हामी सत्य, न्याय, परिपूरण र रूपान्तरणमुखी शान्तिको प्रक्रियाद्वारा समाजमा मेलमिलाप र स्थायित्व कायम राख्नुपर्ने पक्षमा छौँ,’ उनले भनेका छन्, ‘हामी द्वन्द्वकालमा भएका मानवता विरोधी ज्यादती तथा मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिने कुरामा सहमत हुन सक्दैनौँ ।’

नेपालको शान्ति प्रक्रिया घरेलु प्रयासद्वारा मौलिक रूपमा अघि बढेको यथार्थलाई आत्मसात् गर्दै संक्रमणकालीन न्यायलाई पनि नेपाली नेतृत्वमा तार्किक निष्कर्षमा पु¥याउनुपर्ने आफूहरूको मान्यता रहेको ओलीको भनाइ छ ।

‘द्वन्द्वबाट पीडित भएका नागरिकले भोग्नुपरेका पीडाको सम्बोधन गर्न हामीले सरकारमा रहँदा सचेत प्रयत्न ग¥यौँ । यद्यपि द्वन्द्वमा प्रत्यक्ष संलग्न राजनीतिक पक्षहरूको अनिच्छा र परस्पर विरोधी अडानका कारण धेरै विषयहरू चाहेर पनि सम्बोधन गर्न नसकिएको विषय म यस अवसरमा स्पष्ट गर्न चाहन्छु,’ विज्ञप्तिमा भनिएको छ ।

संविधानको मार्ग निर्देशन अनुरूप समृद्ध राष्ट्रको निर्माण गर्दै समाजवादतर्फको यात्रा अब साझा संवैधानिक दायित्व बनेको भन्दै ओलीले यस महत्त्वपूर्ण अवसरमा एमाले विगतको द्वन्द्वबाट समग्रतामा शिक्षा लिँदै भविष्यमा फेरि द्वन्द्व नदोहोरिने सुनिश्चितताको लागि सत्य, परिपूरण र न्याय जस्ता संक्रमणकालीन न्यायका सबै अवयवहरूको पूर्ण प्रत्याभूतिको लागि दृढ संकल्पित रहेको स्पष्ट पारेका छन् ।