अधिकांश स्थानीय तहका कार्यालय भाडाका घरमा

 

कात्तिक २६, काठमाडौँ –   जिल्लाका नौवटा स्थानीय तहमध्ये खाँडाचक्र र रास्कोट नगरपालिका तथा महावै, शुभकालिका, सान्त्री त्रिवेणी र पलाता गाउँपालिकाले भाडाका घरमा कार्यालय सञ्चालन गर्दै आएका हुन् ।

नरहरिनाथ, महावै, पलाता, रास्कोटलगायतका स्थानीय तहले कार्यालय भवन निर्माण सुरु गरे पनि आफ्नै भवनमा सञ्चालन गर्न अझै तीन÷चार वर्ष कुर्नुपर्ने अवस्था रहेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताए। “साविकको कुमालगाउँ गाविसको भवनमा गाउँपालिकाले प्रशासनिक काम गरिरहेको भएपनि अन्य शाखा र स्टोर भाडाका घरमा राख्नुपरेको छ”, उनले भने, “आफ्नै प्रशासनिक भवन निर्माणको काम थालनी गरिएको छ तर, बन्नका लागि केही समय लाग्नेछ ।”

सान्नीत्रिवेणी गाउँपालिकाले स्थानीय पञ्चदेवल मावि र जनचेतना बहुमुखी क्याम्पसको भवनमा कार्यालय सञ्चालन गरेको चार वर्ष पुगेको र पालिका भवनको अझै टुङ्गो नलागेको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताउए । “विद्यालय र क्याम्पसलाई समस्या नपर्ने गरी केही कोठा प्रयोग गरिरहेका छौँ”, उनले भने, “भवन बनाउन अहिलेसम्म जग्गाको टुङ्गो लागेको छैन ।”

साविकको मुम्रा, मेहेलमुडी र रकु गाविस मिलेर बनेको यो गाउँपालिकाको वडा नं २ बुठिंगेबाहेक अन्य वडाका पनि आफ्नै कार्यालय भवन छैन । मुम्रा–८ र ९ का कार्यालय पनि डाँफे मावि मुम्राको भवनमा छ । ठाउँ अभावले दुवै वडाको कार्यालय एउटै ठाउँमा राखिएको अध्यक्ष शाहीले बताए। कार्यालय सञ्चालन गर्न अन्यत्र ठाउँ नभएपछि शैक्षिक संस्थाको खाली रहेको भवनमा गाउँपालिका सञ्चालन गरिएको उनको भनाइ छ ।

खाँडाचक्र नगरपालिकाले करिब चार वर्षअघि आफ्नै भवन बनाउन पहल थाले पनि जग्गा अभावमा प्रक्रिया अघि बढ्न नसकेको बताइएको छ । नगरपालिकाले घर भाडामा मात्र वार्षिक करिब रु ३० लाख खर्च गरिरहेको खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले बताए । “चालु आर्थिक वर्षमा पनि घर भाडाबापत रु ३० लाख प्रस्ताव गरिएको छ”, उनले भने, “सदरमुकामस्थित खाँडाचक्र नगरपालिकाले चार वर्षदेखि स्थानीय तीन जनाका घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको छ ।”

रास्कोट नगरपालिकाले पनि विषयगत शाखा र आठ वटा वडा कार्यालय भाडाकै घरमा सञ्चालन गरिरहेको छ । त्यस्तै, ११ वटा वडा कार्यालयका लागि रु पाँच लाखदेखि सात लाखसम्म बजेट विनियोजन गरेर नगरसभाबाट स्वीकृत भइसकेको छ ।

पचालझरना गाउँपालिकाले अस्थायी टहरा निर्माण गरेर पडेक्षामा कार्यालय सञ्चालन गर्दै आएको छ । प्रशासनिक भवन बनाउनका लागि ठेक्का स्वीकृत भएको गाउँपालिकाका अध्यक्ष खड्क सेजुवालले जानकारी दिए । रासस