पीडित किसानलाई नगरपालिकाको राहत

कात्तिक २३, काठमाडौँ – चाँगुनारायण नगरपालिकाले धानको बोटमा भुसमात्र लागेर धान नफलेपछि पीडित किसानलाई राहत दिने भएको छ । सोमबार राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल, जिल्ला कार्यसमितिको आयोजना र नगरपालिकाको सहआयोजनामा भएको अन्तक्र्रिया कार्यक्रममा नगरप्रमुख सोमप्रसाद मिश्रले पीडित किसानलाई राहत प्रदान गरिने बताएका हुन् ।

नगरपालिकाका करिब ७० किसानले २०० रोपनी जमिनमा लगाएको धान उत्पादन नभएर किसान पीडामा परेकाले क्षति भएअनुसारको क्षतिपूर्ति नगरपालिकाले दिन नसके पनि केही राहत भने उपलब्ध गराउने उनले जानकारी दिए। नगरपालिकाको कृषि विज्ञले सिफारिस नगरेको र किसानलाई नलगाउन भनिएको धान नफलेर भुसमात्रै भएकाले धेरै फल्ने आशामा जथाभावी धान नरोप्न नगरप्रमुख मिश्रले किसानलाई सुझाव दिए ।

कार्यक्रममा चाँगुनारायण र सूर्यविनायकका पीडित २०० भन्दा बढी किसानको सहभागिता थियो । किसानले चिनियाँ धान डिवाइ २८, खुमल–८ लगायत धानको बीउ ल्याएर रोप्दा उत्पादन न्यून भएको बताएका छन् । हाइब्रिड धान लगाउँदा उत्पादन कम भएकाले अब सरकारले आफूहरूलाई राहत दिनुपर्ने किसानको माग थियो ।