वाग्मती प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

कात्तिक ११, काठमाडौं – वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई नियुक्त गरेका छन् ।

यसैगरी मुख्यमन्त्री राजेन्द्र पाण्डेको सिफारिसअनुसार प्रदेश प्रमुख शर्माले गठबन्धनको तर्फबाट प्रदेशसभाका सदस्य कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालय, कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालय र कृष्णप्रसाद खनाललाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

प्रदेशसभाका ५९ जना सदस्यको समर्थनसहित मुख्यमन्त्री पदमा पाण्डेलाई नियुक्त गर्न दाबीपत्र हिजै प्रदेश प्रमुख सचिवालयमा दर्ता गरिएको थियो । गठबन्धनको तर्फबाट प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी) केन्द्र, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जसपाबाट नवनियुक्त मुख्यमन्त्रीलाई समर्थन छ ।

प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेकपा (एमाले), माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, विवेकशील साझा, नेपाल मजदूर किसान पार्टी, राप्रपा र जसपाको गरी कूल १०९ जना सदस्य छन् ।