कात्तिके स्नानका लागि कालीगण्डकीमा दैनिक भीड

कात्तिक ५, काठमाडौँ – कात्तिक महिना सुरु भएसँगै आध्यात्मिक र जैविक महत्वको कालीगण्डकी नदीमा स्नान गर्नेको भीड बढेको छ । कात्तिक स्नान गर्न कालीगण्डकी नदीमा भक्तजनको बिहानको समयमा भीड नै लाग्ने गरेको हो । कात्तिकभरि नै यहाँ स्नान, जप र ध्यान गर्नेको भीड लाग्ने गर्दछ ।

आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाश दीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वासले कालीगण्डकीको गलेश्वर, बेनीबजार, सेतीबेणी, रिडीलगायत क्षेत्रमा गण्डकी स्नानका लागि भीड लाग्ने गरेको हो ।

विभिन्न पौराणिक ग्रन्थमा कालीगण्डकीको महिमाको वर्णन गरिएको छ । यसको तटीय इलाका तथा प्रसवण क्षेत्रमा रहेका विभिन्न तीर्थस्थल, ऋृषि महर्षिका आश्रमस्थल, धाम, घाट र मानवबस्तीका कारण यसको सभ्यता वैदिककालसँग जोडिएको कालीगण्डकी बचाउ अभियानका अभियानकर्मीले बताउँदै आएका छन् । कालीगण्डकीको पौराणिक महत्व र यहाँ पाइने शालग्रामबाट आकर्षित भई विभिन्न ऋृषिगणले यसको प्रसवण क्षेत्रमा आई योग, तपस्या र साधना गरेका दृष्टान्त भेटिन्छन् । कालीगण्डकीको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, आर्थिक तथा पर्यटकीय दृष्टिले पनि ठूलो महत्व छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गरी घरघरमा विशेषरूपमा गरिने तुलसी पूजाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तुलसी पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको पण्डित नीलकण्ठ आचार्यले बताए ।