कोसीमा पानीको बहाव बढ्दैः राजविराज जलमग्न

कार्तिक ३, काठमाडौ – विगत दुई दिनदेखि लगातारको वर्षाका कारण सप्तकोसी नदीमा पानीको सतह बढ्दो क्रममा रहेको छ ।

सप्तरी र सुनसरी दुई जिल्ला जोडिने कोसी नदीमा लगातार परेको भारी वर्षाका कारण पानीको सतह बढ्दो क्रममा रहेको कोसी ब्यारेजले जनाएको छ ।

आज बिहान १० बजे गरिएको मापन अनुसार कोसी ब्यारेजमा दुई लाख ६१ हजार क्युसेक पानीको बहाव रहेको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ । पूर्वी पहाडी जिल्लामा लगातार वर्षा भइरहेकाले अझै पानीको बहाव बढ्ने क्रममा नै रहेको कोसी ब्यारेज प्रशासनले जनाएको छ । नदीको पानीलाई निकास दिन ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएका छन् ।

पानीको बहाव बढेपछि आवश्यकता अनुसार थप ढोका खुला गरिने ब्यारेज प्रशासनले जनाएको छ । पहाडी क्षेत्रका साथै तराईमा पनि अत्यधिक वर्षा भइरहेकाले कोसीमा पानीको बहाव उच्च देखिएको छ । नदीमा पानीको बहाव उच्च भएर जोखिम बढेपछि सतर्कता सूचक रातो बत्ती बालिएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालयले नदीको तटीय क्षेत्र र आसपासका बासिन्दालाई सतर्क रहन र सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

राजविराज जलमग्न

दुई दिनदेखि लगातार परेको वर्षाका कारण सप्तरी जिल्लाको विभिन्न खोलामा पानीको बहाव बढेको छ । जिल्लाको सुन्दरी खोलामा यस वर्षकै सबैभन्दा बढी पानीको बहाव देखिएको कञ्चनरुप नगरपालिकाका राजकुमार साहले बताए । उनले यस खोलामा आएको वर्षाको बाढीले केही घरमा पानी पसेको छ ।

यस्तै जिल्लाको खाँडो नदीमा बाढी आएको छ । उक्त नदीमा आएको बाढीका कारण सप्तरीको दक्षिणी भेगका तिलाठी कोइलाडी गाउँपालिकाका अधिकांश गाउँ डुवानमापर्ने खतरा रहेको गाउँपालिकाले जनाएको छ ।

बलान नदीमा लगातारको वर्षाले पानीको बहाव उच्च रहेको देखिएको छ । सो नदीमा राति अबेरसम्म ठूलो बाढी आउन सक्निे स्थानीयवासीले जनाएका छन् । मुलुककै पुराना नगरपालिकामध्येका राजविराज नगरपालिकामा सामान्य वर्षा हुँदा पनि जलमग्न हुने गरेको छ ।

ढल निकासको उचित व्यवस्था नहँुदा सामान्य वर्षामा पनि नगर क्षेत्रका सडक तथा बजार अहिले जलमग्न भएका छन् । दुई दिनदेखि हावाहुरीसँगै आएको लगातारको वर्षाले राजविराज नगरपालिकाका मुख्य सडक तथा बजार डुवानमा परेको स्थानीयवासीले बताएका छन् ।

अहिले वर्षाले अनुपराज धर्मशाला, राजविराज हटिया, राजविराजको खर्साल टोल, मिमाली टोल र सडक जलमग्न भएका छन् ।