बबई नदीको फोहर पानी खानुपर्ने बाध्यता अन्त्य हुने

असोज २४, सल्यान – जिल्लाको कालीमाटी गाउँपालिका–७ घुइँयाबारीमा खानेपानी आयोजना निर्माण सुरुआत गरिएको छ । आयोजना निर्माणसँगै सो क्षेत्रमा रहेका ४०० घरपरिवारमा वर्षांैदेखि बबई नदीको फोहर पानी खानुपर्ने बाध्यता अन्त्य भएको छ ।
बस्तीमा खानेपानीको अभाव हँुदा स्थानीयले बस्ती नजिकै रहेको सो नदीको फोहर पानी प्रयोग गर्दै आएका थिए । वर्षायाममा नदीमा धमिलो पानी प्रयोग गर्ने गरेको स्थानीय वीरबल बुढाले जानकारी दिए

‘यहाँ ४०० भन्दाबढी घरधुरी छन् । खानेपानीको स्रोत नहँुदा वर्षौंदेखि यही बबईको पानीले गुजरा चलाउँदै आएका छौं’ उनले भने ।
बस्तीमा आउने पानीका मुहान धेरै भए पनि कसैले चासो नदिएका कारण खानेपानीको समस्या भएको स्थानीयको गुनासो छ । गाउँमा यति धेरै घरपरिवार हँुदा पनि कतैबाट पनि समस्याको समाधानका लागि सुनुवाइ नभएको स्थानीयको भनाइ छ ।

मध्यवर्ती क्षेत्रमा जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जामा पहुँच कार्यक्रमअन्तर्गत बस्तीमा ठूला खानेपानी आयोजना निर्माण गर्न लागेपछि भने स्थानीय खुशी भएका छन् । कार्यक्रमबाट रु १५ लाख र गाउँपालिकाको रु नौ लाख गरी रु २४ लाखको लागतमा खानेपानी योजना सुरुआत गरिएको जनाइएको छ । कार्यक्रमका जिल्ला संयोजक महेश हिताङ्गले कार्यक्रमअन्तर्गत मुहानमै पानीको शुद्धीकरण गरी घरघरमा धारा जडान गरिने उनले बताए ।

‘यस क्षेत्रमा समस्या धेरै छन् तर पनि खानेपानीको समस्या प्रमुख भएकाले हाल हामीले दुई खानेपानी आयोजना सञ्चालन गरेका छौँ यसबाट तत्काल १२७ घरमा धारा जडान गरिने तयारी गरिएको छ ’यस क्षेत्रमा खानेपानीको चरम सङ्कट भएका कारण आयोजना सञ्चालन गर्नुपरेको र यसबाट स्थानीयलाई खानेपानीमा सहज पुग्ने संयोजक हिताङ्गले जानकारी दिए ।

अहिले दुवै आयोजनामा काम धमाधम भइरहेकाले अबको तीन महिनाभित्रमा सबै घरमा धारा जडान गरिने खानेपानी निर्माण समितिका अध्यक्ष चित्रबहादुर बुढाले जानकारी दिए

‘“यहाँ गाउँपालिकाले दिने बजेट अत्यन्तै थोरै छ एउटा वडाभरिका योजना सञ्चालन गर्नका लागि रु २० लाख छ यसले खानेपानी निर्माण गर्नु कि अन्य अत्यावश्यक काम गर्नु, तर पनि मैले भने खानेपानीलाई प्राथमिकतामा राखेको छु ।’ कालीमाटी गाउँपालिका–७ का वडाध्यक्ष नयनसिंह रानाले भन्नुभयो । गाउँपालिकाले बजेट विनियोजनमा विभेद गरेका कारण पनि आफ्नो वडा पछि परेको उनले गुनासो गरे ।