चीनबाट आयात भएका सामग्रीको परीक्षण हुदै

असोज २२, रसुवा – नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार परिक्षण कार्य छिटो र छरितो तवरले अगाडि बढेको छ । बडादसैँलाई केन्द्रित गरी व्यापारीले आयात गराएको तयारी पोशाक, जुत्ता चप्पललगायत सामग्री छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने अभिप्रायले भन्सार परीक्षणलाई तीव्ररूपमा अगाडि बढाइएको हो ।

दैनिक रूपमा आयात हुने सामग्रीलाई टिमुरेस्थित भोटेकोसी खोलाबगरमा रहेको भन्सार हाताभित्र पल्टाइ परीक्षण गर्ने गरिएको छ । खोलाबगरको चिसो हावा एवं धुलो मैलालाई कुनै प्रवाह नगरी जाँचकीद्वारा छिटोभन्दा छिटो परीक्षण भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए ।

चीनबाट आयात भएका सामग्री कन्टेनरबाट पूरै बाहिर निकाली परीक्षण गर्ने गरेको र नीति, नियमले परिभाषित गरेबमोजिम नियमानुसार शुल्कवापतको राजस्व असुली हुँदै आएको छ । व्यापारीले बडादसैँलाई केन्द्रित गरी स्याउका साथै तयारी पोशाक, जुत्ता चप्पलजस्ता सामग्री आयात गराइरहेका छन् ।

व्यवसायीले आयात गराएका सामग्री छिटोछरितो बजारमा पुगोस् र आम उपभोक्तालाई दसैँका अवसरमा खरिद गर्न सहज होस् भन्ने अभिप्रायले कार्यालयका तर्फबाट गर्नुपर्ने भन्सार प्रक्रिया छिटोछरितो भइरहेको कर्मचारीले बताएका छन् । चीनबाट आयात भएका सामग्रीबाट भन्सार शुल्कवापत गत साउनदेखि हालसम्म रु एक अर्ब ७८ करोडभन्दा बढी राजस्व असुली भइसकेको र दैनिकरूपमा राजस्व असुली बढ्ने क्रम जारी रहेको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए ।

रसुवागढीको मितेरी पुलबाट दैनिकरूपमा नौवटा कन्टेनर व्यावसायिक सामग्री नेपाल भित्रने गरेका छन् ।