टेलिकमको फोरजी सेवासहितको टावर सञ्चालन

असोज १८, काठमाडौं – जिल्लाको विभिन्न १८ स्थानमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको छ । जिल्लाका दशवटै स्थानीय तहमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालन गर्ने लक्ष्य लिएको टेलिकमले पहिलो चरणमा जिल्ला विभिन्न १८ स्थानमा सञ्चालनमा ल्याएको हो ।

दिक्तेलस्थित टेलिकमको कार्यालय, रत्नपार्क, हलेसी, च्यास्मिटार, बाहुनीडाँडा, सिम्पानी, खोटाङबजार, सावाकटहरे, चिसापानी, बराहपोखरी, मात्तिमबिर्ता, खिदिमा, बाँझेच्यानडाँडा, दोर्पाबुवालुङ, फेदी बाक्सिला र बुइपामा जडान गरिएको टावर सञ्चालनमा आएको नेपाल टेलिकम खोटाङका कार्यालय प्रमुख खगेन्द्र मगरले बताए ।

‘नमस्ते मोबाइलका सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै टेलिकमले गत आर्थिक वर्ष जिल्लाका २८ स्थानमा टेलिफोन टावर जडानको काम थालेको थियो”, उनले भने, ‘जडान गरिएकामध्ये पहिलो चरणमा १८ वटा सञ्चालन गरिएको छ । निर्माणाधीन दशवटा पनि चाँडै सञ्चालन गर्ने तयारी गरेका छौं ।’

‘टेलिफोन टावरका लागि आवश्यक सामग्री ल्याई सकिएको छ ।’उनले भने ‘अहिले जिल्लाका ग्रामिण सडक अवरुद्ध रहेकाले निर्माणस्थल पु¥याउन सकिएको छैन । दस÷तिहारलगत्तै बाँकीदशवटै ठाउँका टेलिफोन टावर सञ्चालनमा ल्याउँछौँ ।’
नेपाल टेलिकम खोटाङका अनुसार यस वर्ष जिल्लाका थप तीन ठाउँमा टेलिफोन टावर जडानका लागि केन्द्रबाट कार्यक्रम आएको जनाइएको छ । सल्ले, राजापानी र लिच्किराम्चेमा यस वर्ष टेलिफोन टावर जडानका लागि केन्द्रबाट थप कार्यक्रम आएको कार्यालय प्रमुख मगरले जानकारी दिए ।

नेपाल टेलिकमले जिल्लामा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा ल्याएपछि अधिकांश भेगका सेवाग्राही लाभान्वित भएका छन् । जिल्लामा जडान गरिएका टेलिफोन टावरलाई प्रभावकारी बनाउन केन्द्रीय प्रशारण लाइनको विद्युत्का साथै सोलार प्यानेल जडान गरिएको टेलिकमले जनाएको छ ।

जिल्लाका अधिकांश भेगमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा ल्याएपछि दुई नगर र आठ गाउँपालिका रहेको जिल्लामा नमस्ते मोबाइल प्रयोग गर्ने सेवाग्राहीको सङ्ख्यासमेत वृद्धि हुँदै गएका छन् । गाउँगाउँमा फोरजीसहितको नमस्ते मोबाइल सेवा सञ्चालन भएपछि जिल्लामा रिचार्ज कार्डमात्रै रु दुई करोड बढीको खपत हुने गरेको कार्यालय प्रमुख मगरले जानकारी दिए ।
टेलिकमले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका साथै धार्मिक तथा पर्यटकीयस्थल हलेसी, चिसापानी, ऐंसेलुखर्क र खोटाङबजारमा ल्याण्डलाइन टेलिफोन विस्तार गरेको छ । जिल्लाका विभिन्न ठाउँमागरी करिब ६०० उपभोक्ताले टेलिकमको एडिएसएल सेवा लिएको जनाइएको छ ।

जिल्लामा इन्टरनेट सेवालाई समेत प्रभावकारी बनाउन पहल थालेको टेलिकमले पछिल्लो समय दिक्तेल बजारमा फाइबर विस्तारको कामसमेत तीव्रगतिमा अगाडि बढाएको छ । दसैँ÷तिहारलगत्तै सेवाग्राहीलाई फाइबर सेवा वितरण गर्ने लक्ष्य लिएको टेलिकमले दिक्तेल बजारमा तार टाँग्ने काम सम्पन्न गरिसकेको छ ।

दिक्तेल बजारमा फाइबर सेवा सुरु भएपछि इन्टरनेटमा कुनै समस्या नआउने कार्यालय प्रमुख मगरले बताए । ‘जिल्लामा विस्तार गरिएका एडिएसएल सेवामा समेत बेलाबखत समस्या देखिने गरेको छ । उनले भने, ‘फाइबारमार्फत वितरण गरिने इन्टरनेट छिटो चल्नुका साथै अवरुद्ध हुने सम्भावना कम हुन्छ ।’

बढ्दो प्रविधिको प्रयोगसँगै जिल्लाका सबै स्थानीय तह तथा सरकारी कार्यालयमा इन्टरनेटमार्फत सेवा प्रवाह शुरु गरिएको छ तर, इन्टरनेट सेवा प्रदायक कम्पनीको लापर्वाहीले स्थानीय तह तथा कार्यालयमा जडान गरिएका इन्टरनेट सेवा प्रभावकारी नहुँदा सेवाग्राही मारमा परेका छन् ।

सेवाग्राहीलाई बिना झन्झट छिटो सेवा दिने उद्देश्यले अधिकांश स्थानीय तह तथा सरकारी कार्यालयले पेपरलेस (बिना कागजात) इन्टरनेटमार्फत कामसमेत सुरु गरेको छ । इन्टरनेट सेवा प्रभावकारी नहुँदा कार्यालयमा जडान गरिएका कम्प्युटरमा सिस्टम (प्रविधि) नचलेपछि सेवाग्राहीको काम घण्टौँसम्म रोकिने गरेको छ ।

दश स्थानीय तह रहेको जिल्लामा दर्जन बढी इन्टरनेट सेवा प्रदायक कम्पनीको इन्टरनेट जडान गरिएका छन् । कतिपयले सेवाग्राहीबाट अग्रिम भुक्तानी लिएर जडान गरिदिएका छन् भने, कतिपयले मासिकरुपमा भुक्तानी लिने गरेका छन् । इन्टरनेट सेवा प्रभावकारी नहुँदा सबैभन्दा बढी बैङ्क तथा वित्तीय संस्था र जिल्लामा क्रियाशील सञ्चारकर्मी मारमा परेका छन् । यससँगै जग्गा पास तथा नामसारी गर्न जिल्ला मालपोत कार्यालय आउने सेवाग्राही पनि उत्तिकै मारमा पर्ने गरेका छन् ।