नर्सरी खेतीबाट मनग्य आम्दानी

असोज ५, काठमाडौ – बाजुराको बुढीनन्दा नगरपालिका–८ गेणे गाउँका बुँदे रावतले नर्सरी खेतीबाट राम्रो आम्दानी गरेका छन । भारतबाट फर्केपछि स्वदेशमै केही गर्ने मनसायका साथ २०६० सालबाट व्यावसायिक तरकारी खेती सुरु गर्नुभएका रावतले नर्सरी खेती थालेको भने चार वर्ष भयो ।

पिसविन सम्पूर्ण परियोजना र कृषि ज्ञान केन्द्र बाजुराको अनुदानसहित ज्ञान र सीप पाएपछि नर्सरी खेती राम्रो भएको रावतको भनाइ छ । नर्सरी खेतीबाटै वार्षिक एक लाख रुपैया बचत हुने उनको भनाइ छ ।

अर्काको भारी बोक्नुपर्ने र गाली खाएर बस्नुपर्ने कुरा सहन नसकेर स्वदेशमै फर्किनुभएका रावत हाल सफल नर्सरी कृषकको परिचयले चिनिन्छन । पूर्वी उत्तरी क्षेत्रमा पर्ने कोल्टी क्षेत्रमा आवश्यक बिरुवा आफ्नै नर्सरीबाट जाने गरेको उनको भनाइ छ ।

स्याउ, ओखर, कागती, सुन्तला, मौसम, किवी, आरु आदिका बिरुवा रावतको नर्सरीमा पाइन्छ । केवल दुई कक्षा पढ्नुभएका रावत आफैँ हिसाबकिताब गर्ने र बिरुवामा देखिने अधिकांश समस्याबारे जानकारी राख्छन ।

छोराछोरीको पढाइलेखाइसहित परिवारको खर्च नर्सरीबाटै रावतले धानेका छन । कमल फलफूल नर्सरी चलाउनुभएका रावत नमूना कृषकका रुपमा चिनिनुभएको पिसविनका कार्यक्रम प्रबन्धक धर्मबहादुर रोकायाले बताउछन। पिसविनले आर्थिक अनुदानसहित ज्ञान, सीप, प्रविधि र औजार उपकरणसमेत सहयोग गर्ने गरेको परियोजनाका प्रमुख गोविन्द थापाको भनाइ छ ।

नर्सरी खेतीसँगै मौरीपालन पनि उनले गरेका छन। धान, गहुँ लगाएर मिहिनेतको फल आए पनि गुजारा मात्र हुने भएकाले पेसालाई व्यावसायिक र आधुनिक ज्ञान, सीप तथा प्रविधिसँग जोड्नुपर्नेमा रावतको जोड छ ।