दाँतको उपचारमा आरसीटीका भ्रम र सत्यता

भदौं २५,काठमाडौं – दाँतको जरामा समस्या हुँदा गरिने उपचारलाई रुट क्यानल ट्रिटमेन्ट (आरसीटी) भनिन्छ । यो साधारण उपचार विधि हो । साधारणतया यो दन्त चिकित्सकद्वारा गरिन्छ । दाँतको चपाउने भागदेखि जराको भित्री टुप्पासम्म सफा गरी संक्रमण हटाउने उपचार विधि आरसीटी हो ।
यो उपचार विधिबारे केही भ्रम र सत्यता

– दाँत दुखेमा मात्र आरसीटी गराउनुपर्छ भन्ने सोच गलत हो । कीराले दाँतको नसा छोएमा सहनै नसक्ने गरी दाँत दुख्छ । यो दुखाइ कम गर्ने उपचार विधि आरसीटी हो।

– आरसीटी उपचार अत्यन्तै पीडादायक हुन्छ भन्ने भनाइ पनि गलत हो । हाल नयाँ प्रविधिबाट उपचार सहज भएकाले यो विधिमा त्यति दुखाइ हुँदैन । उपचारअघि दाँत र गिजालाई केही लाटो बनाउन सानो इन्जेक्सन (एनेस्थेसिया) लगाइन्छ ।
– आरसीटी धेरै खर्चिलो हुन्छ बरु दाँत नै निकाल्नु वेश हुन्छ’ धेरै जना बिरामीले यो भन्ने गरेको सुनिन्छ । यो सोच पनि गलत हो । दाँत निकाल्नु भनेको झनै पीडादायक प्रक्रिया हो । दाँत निकालेपछि त्यसका आसपासका दाँतहरू अगाडि–पछाडि सर्ने सम्भावना बढी हुन्छ ।

– आरसीटी गर्दा ज्वरो आउने र यो उपचार स्थायी होइन भन्ने बुझाइ धेरैको छ तर, यो सत्य होइन । आरसीटी गर्दा दाँतको जरामुनि अथवा गिजामा बसेको कीटाणु सबै सफा गरी जराबाटै खरजस्तै वस्तु ‘गुत्तापर्च’ ले भरिन्छ । यो विधिले दाँत स्वस्थ बनाउन मद्दत गर्छ । यस्तो उपचार विधिबाट दाँत स्वस्थ हुनुका साथै कुनै साइड इफेक्ट हुँदैन ।
एजेन्सीको सहयोगमा