शिवालयहरुमा तीजका वर्तालुको भीड

भदौं २४, काठमाडौं हरितालिका तीजको व्रत बसेका वर्तालुको बिहानैदेखि देशभरका शिवालयमा भीड लागेको छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शिवालयमा वर्तालुको भीड लागेको हो । विशेषगरी महिला वर्तालु सौभाग्यको प्रतीक रातो पहिरनमा सजिएर शिवालयमा पूजा आराधनाका लागि पुगेका छन् । पशुपतिनाथ मन्दिर बन्द गरिए पनि पशुपति क्षेत्रमा बिहानैदेखि महिला जम्मा हुन थालेका छन् ।

मन्दिर खुलेका बेलामा जति वर्तालु पशुपति क्षेत्रमा नआएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउनुभयो । पशुपति क्षेत्र आउने महिलालाई भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पर्व मनाउन दिइने कोषले जनाएको छ । पशुपतिनाथको मूल मन्दिर नखुले पनि पशुपति क्षेत्रमा रहेका अन्य शिवलिङ्गमा पूजा आराधनाका लागि भक्तजन जम्मा भएका हुन् ।

गोठाटारबाट बिहानै पशुपति क्षेत्र आएकी शर्मिला चालिसे पशुपतिनाथको मूल मन्दिर रहेपनि अन्य शिवालयमा पूजा आराधनाका लागि आएको बताउछिन् । मन्दिर नखुले पनि पशुपति क्षेत्रमा नआए तीजजस्तो नलाग्ने भएकाले आफू आएको उनको भनाइ छ । अन्य मन्दिर जाँदा पशुपति क्षेत्रको जस्तो खुलापनको अनुभव नहुने भक्तजनले बताएका छन् ।
मूल मन्दिर नखुले पनि बाहिरबाट पशुपतिनाथको गजुर दर्शन गर्न आउने भक्तजन धेरै हुने गरेका छन् । यद्यपि पशुपति क्षेत्रमा कोरोना कालअघिको तीजको जस्तो रौनक छैन ।

गोकर्णेश्वरमा वर्तालुको भीड

गत वैशाख १० गतेदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर शुक्रबार बिहानदेखि खोल्ने निर्णय गरिएको छ । पशुपतिनाथको मूल मन्दिर नखुल्ने भएपछि धेरै भक्तजनको गोकर्णेश्वर महादेव मन्दिरमा बिहानैदेखि भीड लागको छ । कुशे औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने मेला स्थगित गर्ने भनिए पनि टाढा–टाढाबाट धेरै भक्तजन आएपछि खुला गरिएको थियो ।

औँसीमा खोलिएकाले तीजका अवसरमा आज पनि मन्दिर खुला गरेर मास्क, स्यानिटाइजर, भौतिक दूरीलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर वर्तालुुलाई पूजा आराधना एवं दर्शन गर्न दिइने मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले बताउनुभयो ।

गोकर्णेश्वर मन्दिर परिसरमा विभिन्न संस्थाको सहयोगमा स्वयंसेवक परिचालन र स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको छ । स्वयंसेवकले वर्तालुलाई दूरी कायम गरी लाममा बसेर दर्शनका लागि सहयोग गरेका छन् ।

नागेश्वर मन्दिरका ढोका बिहानैदेखि खुला

काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित पेप्सीकोला टाउन प्लानिङमा रहेको नागेश्वर मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । बिहान पौने चार बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरिएको मन्दिर क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले जानकारी दिनुभयो । भदौरे झरीका बीच भक्तजन छाता ओढेर शिवालयमा पूजा आराधनाका लागि पुगेका छन् ।

यसैगरी काठमाडौँ उपत्काका टोल–टोलमा रहेका शिव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । तीज पर्व देवादिदेव महादेवको पूजा आराधना गरी मनाइन्छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।