अफगानिस्तानमा तालिवानद्वारा नयाँ सरकार घोषणा, मुल्लाह मोहम्मद हसन नयाँ प्रधानमन्त्री

भदौं २३, एजेन्सी – अफगानिस्तानमा तालिवानहरुले नयाँ सरकार घोषणा गरेका छन्। काबुल कब्जा गरेको तीन सातापछि तालिवानले सरकार घोषणा गरेको हो।

घोषणा अनुसार मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुने भएका छन्। त्यस्तै, उपप्रधानमन्त्री अब्दुल गनी बरादर हुने तालिवान प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका छन्। बरादर तालिबान समूहका सहसंस्थापकसमेत हुन्। उनी यसअघि कतारको राजधानी दोहामा अमेरिका र तालिवानबीच सम्पन्न शान्तिवार्तामा सहभागी हुँदै आएका थिए।

समूहका अनुसार नयाँ मन्त्रिपरिषदमा सराजुद्दिन हक्कानी निमित्त आन्तरिक मामिलामन्त्री हुनेछन्। उनी हक्कानी सञ्जालक प्रमुखसमेत हुन्। त्यस्तै, कार्यबाहक रक्षामन्त्री मुल्लाह याकुब र कार्यबहाक विदेशमन्त्री आमिर खान हुनेछन्।