‘बुद्धि बंगारा आउदा बुद्धि आउछ भन्नु भ्रम हो ’ – डा.सुवास घिमिरे

भदौं २२, काठमाडौं- चिकित्सकहरुका अनुसार बुद्धि बंगारा जुनसुकै समयमा आउने दाँत हो । यसले धेरै ब्यत्तिहरुलाई दुख दिने गर्दछ । यो दाँत आउदा ज्वरो आउने, गिजा सुन्निने जस्ता समस्याहरु आउने गर्दछ । बुद्धि बंगारा आउने गर्दा किन समस्या हुने गर्दछ ? यसको उपचार कसरी गर्न सकिन्छ त भन्ने बिषयमा ओम समाज डेन्टलका चिकित्सक सुवास घिमिरे संग गरिएको कुराकानी –

बुद्धि बंगारा के हो ?
दाँतको लहर पछाडिको दाँत बुद्धि बंगारा हो । यो विशेषगरी १५ वर्षदेखि २५ वर्षसम्मका युवामा बढी आउँछ । १५ वर्ष उमेरभित्र सबै स्थायी दाँत आइसक्छन् । तर, १७ वर्षदेखि २५ वर्षसम्म आउने बाँकी दाँत बुद्धि बंगारा हो ।

बुद्धि आउने कुरासँग पनि यसलाई जोडिएर हेरिन्छ नि ?
बुद्धि आउने समयमा युवावस्थामा आउने भएकाले यसलाई बुद्धि बंगारा नाम दिएको हुनसक्छ । तर, यो बुद्धि आउने कुरासँग कुनै अर्थ राख्दैन । यसो भन्नुमा कुनै वैज्ञानिक र प्रमाणित तथ्य छैन । यो परम्परागत भ्रम मात्रै हो ।

बुद्धि बंगारा आउँदा किन धेरै समस्या हुन्छ ?

यो दाँत आउँदा धेरैलाई दुख्ने र सुन्निने समस्या हुन्छ । बुद्धि बंगारा आउने समयसम्म सबै दाँत आइसकेका हुन्छन् । बुद्धि बंगाराले पर्याप्त स्थान पाउँदैन । बढ्ने ठाउँ नभएका कारण यो दाँत कहिले हड्डीभित्र पसेर उम्रन्छ त कहिले गालातिर छड्के भएर उम्रन्छ । यसले गर्दा गिजा सुन्निने, ज्वरो आउनेजस्ता समस्या देखा पर्छन् ।

यसको दुखाइबाट कसरी छुटकारा पाउन सकिन्छ ?
यो बंगारा आउँदा दुख्ने प्रक्रिया सामान्य हो । अति दुःख दिएपछि मात्रै चिकित्सकसँग सल्लाह लिने चलन छ । यो एकदमै गलत हो । यसको दुखाइ कम गर्न समय–समयमा चिकित्सकलाई देखाउनुपर्छ । दाँतका कारण समस्या भएमा निकालेर फाल्न सकिन्छ ।

यो दाँतको काम छैन भन्ने मान्यता छ नि, के साँच्चिकै यो दाँतको आवश्यकता हुँदैन ?
हो, बुद्धि बंगारको काम केही हुँदैन । मानिसलाई दुःख मात्र दिन्छ । पछिल्लो समय यसलाई फाल्ने चलन बढ्दै गएको छ । विदेशमा धेरै ठाउँमा पहिलेदेखि नै फाल्ने गरिन्छ । तर, नेपालमा यो दाँत फाल्नु हुँदैन भन्ने मान्यता छ । स्वदेशमा चिकित्सकको सल्लाह नमान्नेहरू विदेशबाट फर्किएर बंगारा फाल्नेहरूको संख्या बढ्दै गएको छ । यो दाँतले अति दुःख दिए मात्रै डाक्टरसमक्ष जाने चलन नेपालीमा छ । यो बंगारा फाल्दा कुनै समस्या हुँदैन । बुद्धि बंगारा ढुक्क भएर फाल्दा हुन्छ ।