सवारी दुर्घटनाबाट तनहुँमा एक वर्षमा ४८ को मृत्यु

 

भदौं १७, तनहँ – सवारी दुर्घटनाबाट तनहुँमा एक वर्षको अवधिमा ४८ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७÷७८ को अवधिमा ३७ पुरुष, आठ महिला र ३ बालकले ज्यान गुमाएका छन् ।

आव २०७६÷७७ मा ४४ र आव २०७५÷७६ मा ६० जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । पछिल्ला तीन वर्षको अवधिमा जिल्लामा १५२ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । ट्राफिक प्रहरी कार्यालयका प्रमुख डोलेन्द्रबहादुर हमालले ७२ किलोमिटर पृथ्वीराजमार्ग रहेको तनहुँ खण्डमा गत वर्ष ९० स्थानमा दुर्घटना भएको जानकारी दिनुभयो । त्यसक्रममा १२८ सवारी साधन दुर्घटनाग्रस्त भएका थिए । उहाँका अनुसार मोटरसाइकल र स्कुटर ६६, ट्रक÷ट्याङ्कर १८, जिप÷कार १७, ट्र्याक्टर १७, बस पाँच, माइक्रो चार र एउटा टिपर दुर्घटना भएका थिए ।

दुर्घटनामा ७६ जना गम्भीर र ५१ जना सामान्य घाइते भएको सो कार्यालयले जनाएको छ । जिल्लामा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन दुर्घटना हुने गरेका छन् । दुई पाङ्ग्रे सवारी साधन अत्यधिक भएकाले मोटरसाइकल र स्कुटर बढी दुर्घटनामा पर्ने गरेको हमालले बताए ।

सडकको भौगलिक बनावट र खाल्डाखुल्डी पनि सडक दुर्घटनाको प्रमुख कारण रहेको उहाँले बताउनुभयो । “पृथ्वीराजमार्गका ठाउँ–ठाउँमा खाल्डाखुल्डी छन्, त्यसले पनि दुर्घटनाको जोखिम बढाइरहेको छ”, उहाँले भन्नुभयो । दुर्घटना कम गराउन प्रहरीले अभियान पनि सञ्चालन गरिरहेको उनले जानकारी दिनुभयो । सवारी चालक र पैदललाई प्रशिक्षणदेखि ‘चालकसँग एक मिनेट’ कार्यक्रम सञ्चालन गरिएको छ ।

जिल्लामा बढी जसो दुर्घटना पृथ्वी राजमार्गमा हुने गरेका छन् । पृथ्वी राजमार्गअन्तर्गत कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाला, विमलनगर, आँबुखैरेनीस्थित पावरहाउस बढी दुर्घटना हुने स्थान हुन् ।

२० हजार सवारी साधन कारबाहीमा

प्रहरीले एक वर्षको अवधिमा २० हजार सवारी साधनलाई कारबाही गरेको छ । नियम उल्लङ्घन गरी सवारी चलाउने २० हजार सवारी साधनलाई कारबाही गर्दा रु एक करोड ३१ लाख २३ हजार ५०० राजस्व सङ्कलन गरिएको छ ।

कारबाहीमा पर्नेमा पाँच हजार ७४५ ट्रक÷टिपर, एक हजार ८१८ बस, चार हजार ७३ कार÷जिप, एक हजार ५८७ ट्र्याक्टर, ११३ अन्य र छ हजार ६४६ मोटरसाइकल÷स्कुटर छन् । कारबाहीमा पर्नेमा पनि दुई पाङ्ग्रे सवारी अत्यधिक छन् । मोटरसाइकल÷स्कुटर कारबाहीबाट मात्रै रु ४६ लाख ७९ हजार ५०० राजस्व सङ्कलन गरिएको सो कार्यालयले जनाएको छ ।

आव २०७६÷७७ मा २१ हजार १५० सवारी साधनलाई कारबाही गर्दा रु एक करोड ३४ लाख ५१ हजार राजस्व सङ्कलन गरिएको थियो । त्यस्तै २०७५÷७६ मा २६ हजार ६४६ सवारी साधनलाई कारबाही गर्दा रु एक करोड ६६ लाख ९४ हजार ५०० राजस्व सङ्कलन गरिएको थियो ।