महाधिवेशनका लागि कांग्रेसले ३८ जिल्लामा खटायो निर्वाचत अधिकृत

भदौं १२, काठमाडौं – नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि ३८ जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाएको छ। महाधिवेशनका लागि पार्टी सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरी बिहीबार ३८ जिल्लाको क्रियाशील सदस्यताको नामावली पार्टीको केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गरेका थिए।

जिल्ला निर्वाचन अधिकृतले भदौ १८ गते हुने गाउँ, नगर, वडा अधिवेशनदेखि जिल्ला अधिवेशनसम्म निर्वाचन प्रक्रियाका काम गर्नेछन्।
निर्वाचन अधिकृत खटाएसँगै भदौ १८ गते तोकिएको वडाअधिवेशनका लागि नेता कार्यकर्ता जिल्ला र गाउँ फर्किन सुरु भएको छ । नविकरण र नयाँ गरी करिब नौ लाखको सङ्ख्यामा रहेका काँग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ, नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफने वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने पार्टीको विधानमा उल्लेख छ ।

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गाउँ, नगर वडाअधिवेशन भदौ १८ गते, गाउँ, नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ। यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ।