नेपाललाई बक्सिङमा तीन कास्य

भदौ ९, काठमाडौ – नेपालले युनाइटेड अरब इमिरेटस्( UAE)मा जारी एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन कास्य पदक प्राप्त गरेको छ । कास्य पदक प्राप्त गर्नेमा दुई महिला र एक पुरुष खेलाडी रहेका छन ।

छिरिङ वाङ्दी शेर्पाले पुरुष ५४ किलोमा कास्य पदक प्राप्त गरेका हुन। उनी सेमिफाइनलमा कजाकिस्तानका एडाइबेक नियाजबेसित पराजित भए। यसअघि उनले कुवेतका मोहम्मद अलिनेजीलाई हराउँदै कास्य पदक पक्का गरे । जुनियर इभेन्टतर्फ शेर्पाले कुवेतका मोहम्मदलाई ५–० अङ्कले पराजित गरेका थिए ।

नेपाली टोलीका साथमा रहेका ओलम्पियन एवं प्रशिक्षक डम्बरदत्त भट्टका अनुसार जुनियरतर्फ महिला ५२ किलोमा नेपालकी स्वस्तिका तिरुवा र महिला ५७ किलोमा नारिका राईले पनि कास्य पदक प्राप्त गरे । प्रतियोगितामा नेपालबाट शेर्पा, तिरुवा र राईसँगै पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरीले प्रतिस्पर्धा गरेका थिए ।

गत महिना ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट प्रतियोगिताबाट युएईमा भाग लिने खेलाडीको छनोट गरिएको हो । टोलीमा ओलम्पियन एवं प्रशिक्षक दीपक महर्जन, सन्दीप श्रेष्ठ र दुर्गा गहतराज सहभागी छन । टोलीको व्यवस्थापकमा नेपाल बक्सिङ सङ्घका सदस्य मानबहादुर भण्डारी र झापा जिल्ला बक्सिङ सङ्घका सदस्य तर्कराज राई रहेका छन । प्रतियोगिता आगामी असोज १५ गतेसम्म सञ्चालन हुनेछ ।