‘गजुरेल कम्पनी’ को यस बर्षको गाईजात्र भर्चुअल हुने

साउन २८, काठमाडौ-  हरेक वर्ष प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने गाइजात्रा यस पटक भने भर्चुअलरुपमा हुने भएको छ ।
हरेक वर्ष फरक फरक भूमिका निभाउँदै गाई जात्रामा प्रस्तुत हुने वरिष्ठ हास्य कलाकार मनोज गजुरेल यस पटक पनि फरक चरित्रका साथ दर्शक माझ आउँदै छन् । यस पटक ४ वटा पात्र उनले निभाउँदै छन् िगजुरेलले बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, रुसी राष्ट्रपति भ्दालमिर पुटिन, पूर्व शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ र प्रधानमन्त्री शेरबहादुर देउवाको चरित्र चित्रण गर्दै छन् ।

हरेक गाईजात्रे कार्यक्रममा मनोज गजुरेलले कुनै न कुनै नयाँ कोसेली ल्याउने गरेका छन् । खासगरी राजा–महाराजा, नेता–मन्त्रीको हुलियामा दुरुस्तै प्रस्तुत हुने गर्छन् । कहिले नरेन्द्र मोदी भएर त कहिले लालबाबु पण्डित बनेर, कहिले डोनाल्ड ट्रम्प भएर त कहिले केपी शर्मा ओली बनेर उनले हास्य प्रस्तुति दिइसकेका छन् । जोन्सन र देउवाको भिडिओ कल तथा दुई मुलुकबिचको राजनीतिलाई तुलना गरेर व्यंग्य गर्दै छन् । अर्कोतर्फ धमलाको जमला व्यंग्यमार्फत पुटिन र देउवाको खोप संवाद प्रस्तुत गर्दै छन् ।

कलाकारहरू शैलेन्द्र सिंखडा, चट्याङ मास्टर, राजा राजेन्द्र, हिमेश पन्त लगायतले यसपालिको गाईजात्रा प्रहसनमा आफ्नो प्रस्तुति दिँदै छन् । कार्यक्रम भदौ १ गतेदेखि ७ गतेसम्म एपीवान टिभी र गजुरियल युट्युब च्यानलमार्फत आउने छ ।