ज्येष्ठ नागरिकलाइ अस्ट्राजेनिका खोप आजदेखि लगाइने

साउन २५, काठमाडौं – सरकारले आजदेखि ज्येष्ठ नागरिकलाई अस्ट्राजेनिका खोप लगाउने भएको छ।
यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्राको रुपमा अस्ट्राजेनिका खोप दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जनाए अनुसार काठमाडौंमा १४४ खोप केन्द्रबाट खोप लगाउन सकिनेछ। यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुबाट नै अस्ट्राजेनिका खोप लगाइने भएको हो। भेरोसेलको दोस्रो मात्रा आइतबारसम्म लगाइएको थियो ।

सरकारले दोस्रो मात्रा लगाई बाँकी रहेको खोप वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनमा विदेश जाने नागरिकलाई लगाउने निर्णय गरेको छ। मन्त्रालयले एक सूचना जारी गरि काठमाडौंमा १४४ खोप केन्द्रबाट खोप लगाउन सकिने जनाएको छ।

गत चैतमा अक्सफोर्ड अस्ट्राजेनिका र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोपको पहिलो मात्रा लगाइएको थियो। दोस्रो मात्रा १२ सातामा लगाउनु पर्ने भएपनि भारतले खोप उपलब्ध नगराएपछि दोस्रो मात्रा डोज लगाउन ढिलाई भएको हो। अब त्यतिबेला पहिलो डोज लगाएकाले आजदेखि दोस्रो डोज लगाउन पाउनेछन्।