सङ्कटग्रस्त मनाङ पुगेको निरीक्षण टोलीको निष्कर्ष : दीर्घकालीन समाधानको खाँचो

साउन २४, काठमाडौँ – मनसुन शुरु भएसँगै भारी वर्षा हुँदा देशका विभिन्न भागमा प्राकृतिक प्रकोपले ठूलो जनधनको क्षति भएको छ । भूक्षय र नदी कटानका कारण तटीय क्षेत्रका बस्ती बग्दा कयौँ मानिस घरबारविहीन भएका छन् । यसपटक सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक र हिमालपारिको जिल्ला मनाङमा भएको छ । बाढीपहिराका कारण भएका क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसहितको प्राविधिक टोली शनिबार मनाङ पुगेको छ ।

मनाङको सबैभन्दा बढी प्रभावित क्षेत्र ङिस्याङ गापा–१ को पिसाङमा जेठ र असारको भारी वर्षासँगै बढेको खोला तथा नदीले ठूलो क्षति पु¥याएको छ । मस्र्याङ्दी नदीले स्थानीयवासीको बस्ती उजाड बनाएको छ भने कयौँ घर नदी कटानमा परेका छन् । मोटरबाटोको त के कुरा गोरेटोबाटो पनि बाँकी छैन । विद्युत् र टेलिफोन लाइन अवरुद्ध छन् । डिस्याङमा भएको क्षतिबारे जानकारी गराउँदै गाउँपालिका अध्यक्ष कान्छा घलेले भौतिक संरचनाका साथै बालीसमेत नष्ट भएको बताए । त्यहाँ पुगेको टोलीसँग उनले भने, “सदरमुकाम चामेसम्मको बाटो बगाएको छ र विद्युत्लगायत सञ्चारमा समेत समस्या छ ।” अध्यक्ष कान्छाले मन्त्री भुसाललाई ज्ञापनपत्र प्रदान गर्दै पुनःनिर्माण र तत्कालका लागि राहतको प्रबन्ध गरिदिन अनुरोध गरे ।

अध्यक्ष कान्छाको ज्ञापनपत्र बुझेपछि मन्त्री भुसालले मनाङ र सिन्धुपाल्चोकलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको जानकारी गराउँदै क्षतिको पुनःनिर्माण र नियन्त्रणमा सरकारले विशेष ध्यान दिने बताए । उनले भने, “भूक्षय र त्यसबाट हुने नदी कटान रोक्ने विषय चुनौतीपूर्ण छ, त्यसलाई हामीले सम्बोधन गर्नैपर्छ ।” मनाङमा भएको क्षतिप्रति सरकार संवेदनशील रहेको बताउँदै उन्ले दीर्घकालीन समाधानका लागि चाँडै सम्बोधन गर्ने बताए ।