राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दै

साउन २२, काठमाडौँ – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ । राजमार्गका विभिन्न स्थानमा भएका खाल्डाखुल्डी नपुरिँदा सवारी साधन सञ्चालन गर्न असहज भइरहेकाले दुर्घटनाको जोखिम बढेको चालक बताउँछन् ।

दैनिक हजारौँ सवारी साधन आवागमन गर्ने राजमार्ग नै भत्केर कुरुप बन्दा पनि सम्बन्धित सरोकारवाला निकायको यसतर्फ ध्यान जान नसकेको स्थानीयवासी बताउँछन् । राजमार्गका ठाउँठाउँमा गरिएको कालोपत्र अघिल्लो वर्षको असार–साउनको अविरल वर्षाका कारण मिर्चैयामा भत्केका सडकको झण्डै एक वर्षभन्दा बढी समय बिते पनि टालटुलसमेत हुन सकेका छैन ।

खासगरी पूर्वमा कटारी चोकदेखि पश्चिममा मिर्चैया थाना चोकसम्म रहेका खाल्डाखुल्डीका कारण राजमार्गको अवस्था अस्तव्यस्त बनेको स्थानीयवासीको भनाइ छ । मिर्चैयाको थाना चोक, कटारी चोक र पश्चिम बस बिसौनीमा रहेका ठूलठूला खाल्डाखुल्डीले पैदल आवतजावत गर्नसमेत समस्या भइरहेको छ ।

एकातिर सडकमा रहेका खाल्डाखुल्डी पार गर्न चालकले लेन मिच्दा दुर्घटनाको जोखिम बढेको स्थानीय व्यापारी अशोक साहले बताए । राजमार्गमा रहेका समस्यालाई समाधान गर्न सडक डिभिजन कार्यालय लहानलाई पटक–पटक जानकारी गराइए पनि कुनै चासो नदिएको व्यापारी साहको कथन छ ।

राजमार्गका केही स्थानमा सडक टुटफुट भएर खाल्डाखुल्डी हुँदासमेत सडक डिभिजन कार्यालयले कालोपत्र गरेर दिगो समाधान गर्नतर्फ ध्यान नदिएको स्थानीयवासीको भनाइ छ । वर्षायाममा नै भत्किएको सडक अहिलेसम्म नबन्दा यात्रुका साथै स्थानीयवासीले सास्ती बेहोर्नुपरेको छ । मुख्यमार्गमा पैदल आवतजावत गर्नेलाई पनि कठिनाइ भइरहेको छ । सडकमा जोखिम मोलेर भए पनि चालकले यातायात सञ्चालन गर्ने गरेका छन् ।

मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादवले सडकको दुर्दशाप्रति आफूहरु पनि चिन्तित रहेको जनाउँदै सडकको समस्या समाधानका लागि पहल गरिरहेको बताए ।