मेलम्चीमा पुनः बाढीको वितण्डाः रेडियो मेलम्चीको भवन ढल्यो, बग्यो झोलुङ्गे पुल

साउन १७, काठमाडौं – मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ। रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति १२ः४० मा भवन ढलेर बगाएको जानकारी दिएका हुन्।

यसअघि गत असार १ गते आएको भीषण बाढीले हेलम्बु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो। त्यतिबेला नै बाढीमा डुबे पनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन। बाढी घटेपछि रेडियोका सामान सुरक्षित स्थानमा सारेर वैकल्पिक माध्यमबाट रेडियो सञ्चालन गरिएको थियो।

पुनः शनिबार राति आएको बाढीले रेडियोको भवन पनि भत्काएपछि ठूलो क्षति भएको अध्यक्ष भारतीले बताए। राति आएको बाढीले पुर्याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ। मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ।

यसअघि हेलम्बु गाउँपालिका नाकोतेखोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिबार राति नै सतर्क हुन अनुरोध गरेका थिए। खोलाबाट असार १ जत्तिकै आवाजमा बाढी आएको उनले बताए।

यसैबीच हेलम्बुस्थित चनौटेको रातो पुलमाथिबाट अहिले पनि पानी बगिरहेको स्थानीयवासी हस्त पण्डितले जानकारी दिए। बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ।

त्यस्तै ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ। नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए।

बाढीपीडित सरोकार समिति गठन

स्थानीय, प्रदेश र केन्द्र सरकारले बेवास्ता गरेको भन्दै हेलम्बुका बाढी प्रभावितले संघर्ष समिति गठन गरेका छन्। उनीहरुले शनिबार भरत थापाको अध्यक्षतामा ३५ सदस्यीय हेलम्बु–मेलम्चीखोला बाढीपीडित सरोकार समिति गठन गरेका हुन्।

गठित समितिमा मिङ्मार शेर्पा उपाध्यक्ष, अर्जुन भण्डारी सचिव रहेका छन्। बाढी गएको ४५ दिन भइसक्दा पनि स्थानीय, प्रदेश र केन्द्र कुनै पनि सरकारले प्रभावितको समस्या सुनुवाइ नगरेको उनीहरुको गुनासो छ।

सो अवसरमा अध्यक्ष थापाले आवश्यक पर्दा समितिले तिनै तहका सरकारसँग समन्वय र संघर्ष गर्ने जानकारी दिए। बाढी प्रभावितलाई उद्धार तथा पुनःस्थापित गर्दै क्षति भएका संरचनालाई पुनः उठाउनका लागि सहयोग पुर्याउन सर्वदलीय, सर्वपक्षीय समिति गठन गरिएको थापाको भनाइ छ। असार १ को बाढीमा हेलम्बुका ९० घर पूर्णरुपमा क्षति भएको छ भने सयौँ विस्थापित भएका छन्।रासस