पाँच बालकको भारतबाट उद्धार

साउन १६, काठमाडौँ – भारतको विभिन्न स्थानबाट दुई वर्षदेखि अभिभावकसँग सम्पर्कविहीन रहेका पाँच बालकको उद्धार गरिएको छ । विश्व सेवा विस्तार संस्थाले भारतको कलकत्तास्थित नेपाली महावाणिज्य दूतावाससँगको सहकार्यमा उद्धार गरेका पाँचमध्ये चार जना मेचीनगर नगरपालिका र एक जना दमकको रहेको जनाएको छ । शुक्रबार उद्धार गरिएका बालकमा मेचीनगर–१ गाडागल्लीका १६ वर्षीय अनिश विश्वकर्मा र १४ वर्षीय महेश विश्वकर्मा, मेचीनगर–५, अधेरीका १५ वर्षीय नवीन लिम्बू र १६ वर्षीय रोमन कटुवाल र दमकका १४ वर्षीय खेम राजवंशी रहेका संस्थाका कोअर्डिनेटर कुमार बस्नेतले बताए ।

उद्धार गरिएका सबैलाई शुक्रबार नै परिवारको जिम्मा लगाइएको छ । उद्धार गरी ल्याइएका बालकले आफूहरु २०५६ सालमा घुम्नका लागि भारत गएका बेला आफूहरुलाई नियन्त्रणमा लिएर भारतको पश्चिम बङ्गालस्थित जलपाइगुडी जिल्लाको एक बालगृहमा लगिएको बताएका छन् । विश्व सेवा विस्तारले विगत पाँच वर्षदेखि झापाको काँकडभिट्टा तथा भद्रपुरस्थित सीमानाकामा रहेर चेलबेटी बेचबिखन तथा बालअधिकारको क्षेत्रमा रहेर गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।