भूकम्पले क्षतिग्रस्त विद्यालयको पुनःनिर्माण अन्तिम चरणमा

साउन १४, काठमाडौँ – विनाशकारी भूकम्पले क्षति पुगेको नुवाकोटका अधिकांश विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पले क्षति पुगेका विद्यालयको पुनःनिर्माणसहित अनुगमन, सुपरीवेक्षण र नियमनको जिम्मेवारी पाएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) मार्फत नुवाकोटमा अधिकांश विद्यालयमा सुविधासम्पन्न नयाँ भवनको निर्माण गरिएको हो ।

विसं २०७२ वैशाख १२ मा गएको भूकम्पले क्षति पु¥याएपछि अस्थायी तथा जोखिम भवनमा कक्षा सञ्चालन हुँदै आएकामा जिल्ला आयोजना कार्यान्वयन एकाइ ९शिक्षा० मार्फत भूकम्पसहित बहुविपद् प्रतिरोधात्मक भवनसहित खानेपानी र शौचालयको समेत सुविधा उपलब्ध गराइएको एकाइ प्रमुख दीनानाथ गौतमले जानकारी दिए । उनका अनुसार भूकम्पले क्षति पुगेका विद्यालयको पुनःनिर्माणसहित सङ्घसंस्था र दातृ निकायसँगको समन्वयमा क्षतिग्रस्त भएका २८४ विद्यालयको एक हजार ५१ कक्षाकोठाको पुनःनिर्माण गर्नुपर्ने दायित्वमा अहिलेसम्म २४२ विद्यायलको नयाँ भवन निर्माण सम्पन्न गरिएको छ ।

“पुनःनिर्माण गर्न बाँकी केही विद्यालयमा निर्माणको काम जारी छ”, एकाइ प्रमुख गौतमले भने, “विभिन्न समस्याका कारण केही ढिलो भएको संरचना अबको केही सातादेखि महिना दिनभित्रै सम्पन्नको नजिक पु¥याइएको छ ।” क्षतिग्रस्त विद्यालयको पुनःनिर्माणका क्रममा नुवाकोटमा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) मार्फत विद्यालय व्यवस्थापन समितिले ८९१ वटा कक्षाकोठाको निर्माण गरेको छ भने अझै केही विद्यालयमा कक्षाकोठा निर्माण भइरहेको छ ।

एकाइको कार्यालयमार्फत अनुगमन, सुपरीवेक्षण र नियमनमा जापानी सहयोग नियोग ९जाइका०को ऋण सहयोगमा ७० वटा विद्यालय, भारतीय सरकारको अनुदान सहयोगमा नौवटा र एशियाली विकास बैंक ९एडिबी० मार्फत छवटा विद्यालयको पुनःनिर्माण र भूकम्पले आशिंक क्षति पु¥याएका विभिन्न सातवटा विद्यालयको भवन प्रबलीकरणको काम भइरहेको एकाइ इञ्जिनीयर राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार विद्यालयको भवन निर्माणका लागि अत्यावश्यक रहेको प्राविधिक जनशक्ति र कामदारको अभाव, सरोकारवाला पक्षबीच समन्वयको कमी, निर्माण प्रक्रिया, निर्माण सामग्री र विद्यालयसम्म पुग्ने पहुँचमार्ग (सडक)को कमीलगायतका कारण देखिएका समस्या हाल समाधान हुँदै पुनःनिर्माण सम्पन्नको नजिक पुगेको हो । “भूकम्पले क्षति पुगेका विद्यालयको पुनःनिर्माणका लागि केन्द्रमा जिल्ला आयोजना कार्यान्वयन एकाइको स्थापना भएसँगै नुवाकोटमा जिल्लास्थित कार्यालय स्थापना गरेर आर्थिक वर्ष २०७३/०७४ देखि पुनःनिर्माण शुरु गरिएको थियो”, एकाइका इञ्जिनीयर श्रेष्ठले भने, “पछिल्लो दुई वर्षको अवधिमा कोरोनाले पु¥याएको प्रभावका कारण निर्माण सम्पन्न हुन बाँकी रहेका भवनको काम अबको चार महिनाभित्रै पूरा गर्ने नयाँ लक्ष्य राखिएको छ ।”

कोरोनाका कारण पछिल्लो दुई वर्षदेखि पुनःनिर्माणमा पुगेको असर नेपाल सरकारले थप गरेको कात्तिक मसान्तसम्मको अवधिमा विद्यालयको पुनःनिर्माण सम्पन्न गर्न सकिने नयाँ लक्ष्य लिइएको छ । भूकम्पले क्षति पु¥याएका विद्यालयमध्ये विद्यार्थी सङ्ख्या न्यून भएका विद्यालय नजिकै रहेका अर्को विद्यालयसँग गाभ्ने (मर्ज) सरकारी नीतिका कारण एकाध विद्यालयबाहेक अधिकांश विद्यालयमा अहिले सुविधासम्पन्न नयाँ भवनसहित खानेपानी सुविधा र शौचालयको व्यवस्था जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) मार्फत गरिएको छ ।

“विद्यार्थी सङ्ख्या अत्यन्त कम भएको र साथमा जग्गासमेत कम भएका कारण तीन–चार विद्यालयमा नयाँ भवनको निर्माणको औचित्य र त्यसको व्यवस्थापन स्थानीय सरकारमार्फत सम्बोधन हुने गरेर समन्वय गरिएको छ”, एकाइ प्रमुख गौतमले जानकारी दिए । रासस