‘कृषि क्रान्तिका लागि कृषक पेन्सन’

बाँकेका अन्य पालिका मध्ये तुलनात्मक रुपमा विकासमा पछि रहेको नरैनापुर गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि १ करोड भन्दा बढी रकम छुट्याएको छ । कृषक पेन्सन जस्तो महत्वाकांक्षी कार्यक्रम ल्याएको छ । यो कार्यक्रमको निकै चर्चा समेत भइरहेको छ । यसै सन्दर्भमा इमेलखबरले नरैनापुर गाउँपालिकाको कृषि शाखाका प्रमुख सदन भण्डारीसँग नीति तथा कार्यक्रम बजेट तथा समग्र नरैनापुरको कृषि क्षेत्रको विकासका विषयमा कुराकानी गरेको छ । प्रस्तुत छ, भण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंश –

चालु आर्थिक वर्ष सकिन लागेको छ, यहाँको दैनिकी कसरी बितिरहेको छ ?

पक्कै पनि चालू आर्थिक वर्षको हामी निकै अन्त्यतिर छौँ । चालू आ.व.को शुरु देखि नै कोभिडले लक्षित काम हुन पाएन । त्यो क्रम लामो समय रहयो । अहिले कोभिडको जोखिम केही न्युन भएकोले सम्पूर्ण क्षेत्र विस्तारै चलायमान हुँदैछ । त्यसैले हामी आर्थिक वर्षको पनि अन्तिम समय भएकोले निकै व्यस्त छौँ । यस्तै वर्षभरी भएका सम्पूर्ण काम, उपलब्धि लगायतका कामहरुलाई सम्पन्न गर्ने चरणमा रहेका छौँ । यस्तै आर्थिक वर्षको अन्तिम महिना भएकोले सेवाग्राहीहरुको पनि निकै ठूलो चाप हुने गर्दछ, गाउँपालिका र शाखाहरुमा । यसैगरि दैनिक सेवाका साथै भुक्तानी लगायतका काम भइरहेको छ । समग्रमा भन्नुपर्दा हामी आर्थिक वर्षको अन्तिमतिरको संघारमा छौँ । व्यवस्त नै छौँ ।

बाँकेमा परम्परागत रुपमा कृषि कर्म हुने क्षेत्रको रुपमा नरैनापुर परिचित छ, यसको लागि गाउँपालिकाले कसरी काम गरिरहेको छ ?

बाँकेको नरैनापुर गाउँपालिका कृषि क्षेत्रको राम्रो सम्भावना भएको क्षेत्र हो । यहाँका बहुसंख्यक जनता कृषि पेसामा आवद्ध छन् । यहाँका जनताको आर्यआर्जनको क्षेत्र नै कृषि हो । तपाईंले भन्नु भएजस्तै यहाँको कृषि क्षेत्रको बृहत्तर विकासको लागि गाउँपालिका र कृषि शाखा सक्रिय भएर लागिरहेको छ । हामीले कृषि क्षेत्रको विकासका लागि आर्यआर्जनमा जोड दिएका छन् । कृषि मार्फत आत्मनिर्भर र सुखी जनता बनाउन हामी लागिपरेको हो । यस्तै हामीले समय सापेक्ष नीति तथा कार्र्यक्रम गर्दै आएका छौँ । चालू आर्थिक वर्षमा कृषि सम्बन्धित थुप्रै कार्यक्रम थिए । तर कोभिडका कारण धेरै हाम्रा लक्ष्यहरु पुरा हुन सकेनन् । गाउँसभाले पारित गरेका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा कोभिड बाधक बन्यो । कोभिड विरुद्ध लड्नुपर्ने भएकोले कृषि क्षेत्रको बजेट रकमान्तर गरेर त्यसमा प्रयोग भएको थियो । कोभिडको बेला क्षेत्रगत बजेट भन्दा कसरी जनताको जिउधनको सुरक्षा गर्न सकिन्छ भन्ने उद्देश्यले काम भएको हो ।

पछिल्लोपटक स्थानीय तहको निर्वाचन मार्फत जननिर्वाचित जनप्रतिनिधि आएपछि स्थानीय तहमा कृषि क्षेत्रको विकासका लागि भएका प्रगती बारेमा जानकारी गराइदिनुन ?

पहिलोपटक देशको शासकीय स्वरुप परिवर्तन भएर संघीयता कार्यन्वयनको चरणमा छ । नयाँ संविधानले स्थानीय सरकारलाई स्वयत्त सरकारको कल्पना गरेर थुपै्र अधिकार समेत दिएको छ । नरैनापुरमा कर्मचारी र जनप्रतिनिधिहरु बीच आपसी रुपमा बसेर कृषि क्षेत्रको विकासको लागि एकजुट हुनु राम्रो कुरा हो । अर्कातिर जनताले स्थानीय तह आएपछि सिंहदरबारको अधिकार गाउँगाउँमा आएको प्रत्यक्ष रुपमा अनुभूत गरिरहेका छन् । विगतका वर्षहरुमा किसान परिवारहरुको लागत संकलन गर्ने , विभिन्न किसिमका कार्यक्रम लागू गर्ने, कुन वडामा के सम्भावना रहेको छ त्यसको खोजी गर्ने लगायतका काम भएका छन् । यस्तै हामीले सिँचाइलाई पनि प्राथमिकता दिएका छौँ । पालिकाले प्रत्येक वडाको सिँचाइको अवस्था, सम्भावनाको खोजी गरेर डिप बोरिङ लगायतको सुविधा प्रदान गरिएको छ । यस्तै यो वर्ष हामीले केही नयाँ र पृथक कार्यक्रम ल्याएका छौँ, नीति तथा कार्यक्रममा ।

गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको अवस्था छ, यसमा कृषि क्षेत्रको विकासका लागि कस्ता कार्यक्रम समेटिएका छन्, जानकारी गराइदिनुन ?

आगामी आर्थिक वर्षको लागि संघीय शसर्त र प्रदेश अनुदानमा हुने कार्यक्रमलाई निरन्तरता दिएका छौँ । ती कार्यक्रमको लागि बजेट पनि उतैबाट आउने गरेको हुन्छ । यसमा हामीले सम्पन्न गर्नको लागि समन्वय मात्रै गर्छौँ । अन्य निरिक्षण लगायतको जिम्मेवारी हाम्रो हुन्छ । पालिकाले चाँहि यहाँको स्रोत र साधनले भ्याएसम्म कृषि मैत्री नीति तथा कार्यक्रमलाई विशेष जोड दिएको अवस्था छ । जस्तै अहिले पाइलट प्रोजेक्टका रुपमा कृषक पेन्सन कार्यक्रम अघि सारेका छौँ । यस कार्यक्रम मार्फत नरैनापुर गाउँपालिकामा रहेको ६ वटा वडाका १ हजार किसानलाई समेट्ने लक्ष्य राखिएको छ । यस्तै स्थानीय सरकारले उनीहरुलाई कृषि क्षेत्रमा लाग्न प्रोत्साहन होस भन्नको लागि मासिक ५ सय रुपैयाँका दरले भत्ता दिनेछ । यो कार्यक्रमलाई महत्वकांक्षी कार्यक्रमका रुपमा गाउँपालिकाले अघि सारेको छ । हामीले यस कार्यक्रम कार्यान्वयनका लागि आउँदो साउनदेखि नै कार्यविधि नै बनाएर अघि बढ्ने तयारी गरिरहेका छौँ । गाउँ सभाबाट पास भएर बाँके जिल्ला मै नयाँ कार्यक्रमको रुपमा यो कार्यक्रम कार्यान्वयनका लागि अघि बढ्छ । यस्तै किसानलाई अझै कृषि क्षेत्रमा गौरवका साथ जोड्न सकिन्छ भन्नको लागि १ परिवारले १० वटा फलफूलका बिरुवा रोप्यो भने उनीहरुलाई प्रति व्यक्ति फलफूल बिरुवा तयारी भत्ता भनेर ५ सय रुपैयाँ प्रदान गर्ने भनेका छौँ । यस्तै स्मार्ट कृषि वडा कार्यक्रम समेत ल्याएका छौँ । उत्कृष्ट किसानको पहिचान तथा छनौट गरि वडा विशेष कार्यक्रम लागू हुनेछ ।यो कार्यक्रम किसानहरुको लागत साझेदारीमा सम्पन्न हुनेछ । किसानलाई कसरी फरक हिसाबले कृषि कर्ममा जोड्न सकिन्छ भनेर हामीले यस्तो प्रयास गरेका छौँ ।

कुनै पनि नीति तथा कार्यक्रम लागू गर्नको लागि बजेट आवश्यक हुन्छ, कृषि क्षेत्रको विकासको लागि बजेट चाँहि कति विनियोजन भएको छ ?

हाम्रो गाउँपालिकामा संघीय शसर्त र प्रदेश अनुदानको बजेट हुन्छ । त्यो निश्चित आउँछ । गाउँपालिकाले भने राजस्व बाँडफाँडबाट आएको पैसा लगानी गर्ने गरेको छ । त्यो बजेट कृषि क्षेत्रको लागि ८ प्रतिशत खर्च हुन्छ । त्यो भनेको झण्डै १ करोड भन्दा माथि हो । पालिकाको आन्तरिक स्रोतबाट ८ प्रतिशत बजेट हामीले यसमा लागू हुन्छ ।सोही अन्तर्गत कृषक पेन्सन कार्यक्रम पनि लागू भएको हो । नरैनापुर गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि १ करोड २३ लाख रुपैयाँ विनियोजन गरिएको अवस्था छ ।

कृषि क्षेत्र मार्फत आत्मनिर्भर बन्न सक्ने सम्भावनाहरु के के हुन नरैनापुरका ?

प्हिलो कुरा नरैनापुर कृषि क्षेत्रमा राम्रो सम्भावना भएको क्षेत्र हो । यहाँ अहिले पनि पराम्परागत रुपमा कृषि कर्म हुने गरेको भएपनि यहाँ कै उत्पादनले माग धानिरहेको अवस्था छ । यहाँका नागरिक मुख्यत कृषि पेसा नै गर्छन् । यहाँका किसानले खाद्यान्न बालीलाई जोड दिइरहेका छन् । वर्षामा धान बाली, हिउँदे सिजनमा मकै,गहु लगायतका बालीको उल्लेख्य मात्रामा खेती हुने गरेको छ । हामीले नगदे बाली उत्पादनमा पनि किसानलाई जोड्नुपर्छ भन्ने उद्देश्यले कृषि क्षेत्रमा आधारित कृषकमैत्री कार्यक्रम ल्याएका हौँ । यहाँ बढि धान खेती हुने गरेको छ । धानखेती अझै प्रवद्र्धन गर्नको लागि विभिन्न कार्यक्रम लागि सारेका छौँ । धान पकेट क्षेत्र बनाउने योजनामा पनि कार्यन्वयनको चरणमा रहेको छ ।

अन्त्यमा समग्र नरैनापुरबासीलाई कृषि क्षेत्रको विकासका लागि अग्रसर हुन के भन्न चाहनुहुन्छ ?

सम्पूर्ण नरैनापुर गाउँपालिकाबासीलाई मेरो आग्रह छ, हामी कृषि क्षेत्रको समृद्धिको लागि क्रियाशिल छौँ । तपाईंहरुको सक्रियताको खाँचो रहेको छ । यहाँ पालिका कृषिको सम्भावना रहेको क्षेत्र हो । खुल्ला सिमाना भएका कारण भारतबाट धेरै कुरा आयात हुने गरेको छ । आयात प्रतिस्थापन गर्ने हाम्रो लक्ष्य रहेको छ । सोही अनुसार हामी अघि बढ्नु पर्ने देखिन्छ । तपाईंहरुको साथ र सहयोग हाम्रो लागि कोशेढुंगा सावित हुनेछ ।आउनुहोस,नरैनापुर समृद्धिका लागि हातेमालो गरौँ । स्थानीय स्तरमा उत्पादित कृषि उपज वस्तुलाई अधिकतम् प्रयोग गरौँ । कृषिलाई व्यवसायिक बनायौँ । स्थानीय सरकारको रुपमा हामी छौँ । तपाईँहरु आँट गर्नुहोस हामी सहयोग गछौँ । सबै वडालाई समेट्ने हाम्रो लक्ष्य रहेको छ ।