स्वास्थ्यकर्मीले फिर्ता गरे तलबभत्ता

साउन १,जाजरकोट कोभिडको समयमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीले प्राप्त गरेको तलबभत्ता फिर्ता गरेका छन् ।
स्वास्थ्य सेवा कार्यालयले झण्डै रु ४० लाख उपलब्ध गराउनका लागि प्रदेश सरकारसँग माग गरेको थियो । प्रदेश सरकारले माग गरिएको रकमभन्दा झण्डै आधा बजेट स्वास्थ्य सेवा कार्यालयमा पठाएको थियो ।

२३ लाख प्रदेशबाट प्राप्त रकमलाई दामासाही तलबभत्ता उपलब्ध गराएपछि केही स्वास्थ्यकर्मीले तहगतरूपमा सो भत्ता पाउनुपर्ने भन्दै उपलब्ध गराएको तलबभत्ता फिर्ता गरेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टीकाराम जैशीले बताए ।

तलब, भत्ता वितरण गर्दा न्याय समानताभन्दा पनि सबैको चित बुझाउने खालको भएका कारण आफूहरुले सो रकम फिर्ता गरेको एक स्वास्थ्यकर्मीले बताए । लामो समयदेखि तलबभत्ता नपाएका स्वास्थ्यकर्मीले धेरै सङ्र्घषपछि पाएको रकमसमेत असमानता भएको भन्दै आक्रोश पोखेका हुन् । त्यस्तै स्वास्थ्य सेवा कार्यालयका कर्मचारीबीचमा द्वन्द्वका कारण काम गर्न मुस्किल भएको कर्मचारी बताउँछन् ।