गैँडा मारेको अभियोगमा पुर्पक्षका लागि थुनामा

असार १४, काठमाडौँ – चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मारेको अभियोगमा पक्राउ परेका राजमान मगर भनिने राजमान थापा मगर कारागार चलान भएका छन् । चालु आर्थिक वर्ष २०७७/७८ मा निकुञ्जमा चोरी शिकारीका कारण मरेका चार वटा गैँडा मुद्दाका फरार प्रतिवादीलाई आइतबार जेल चलान गरिएको हो ।

नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोट नगरपालिका–३ का ३० वर्षीय मगरलाई आइतबार पुर्पक्षका लागि जेल चलान गरिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए । स्थानीय संरक्षणकर्मीहरुको सहयोगमा मगरलाई पक्राउ गरी नवलपुर जिल्ला अदालतसमक्ष हाजिर गराइएको अधिकारीको भनाइ छ । अदालतको आदेशानुसार मगरलाई पुर्पक्षका लागि कारागार पठाइएको अधिकारीले बताए ।

आइतबार कारागार पठाइएका थापाको नाममा गैँडा मारेर खाग बिक्री गरेको आरोपमा नवलपुर जिल्ला अदालतमा दुई तथा चितवन जिल्ला अदालतमा एउटा मुद्दा दायर गरिएको अधिकारीले बताए । थापासहित यस वर्ष गैँडा मुद्दामा २७ जनालाई पक्राउ गरी कानूनी कारबाही गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।